भारत -चीनबीच भएको सम्झौताले नेपाललाई दुःखित बनाएको छः माओवादी


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सम्झौता र त्यसप्रति नेपालको सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबीच भएको सम्झौताले नेपाललाई दुःखित बनाएको बताए। उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिन माग गरे ।

उनले राष्ट्रियताको संवेदनशील मुद्दामा सरकार मौन बस्न नसक्ने उल्लेख गर्दै देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्न नहुने बताए ।

उनले नेपाललाई जानकारी नै नगराई भएको सम्झौता र नेपालको भूमिमाथि भारतको दाबी चिर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताए।