नेपालले उठाएका भौगोलिक दाबीलाई भारतीय विदेश मन्त्रालयद्वारा अस्वीकार


काठमाडौं । लिपुलेक नाका संचालनबारे नेपालले गरेको टिप्पणीबारे भारतको विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विज्ञप्ति जारी गरी भनेका छन्, ‘लिपुलेक नाकामार्फत भारत–चीनबीचको सीमा व्यापार सन् १९५४ देखि सुरु भएको हो र दशकौँदेखि चलिआएको छ । कोभिड लगायतका कारण केही समय अवरुद्ध भए पनि दुवै पक्षबीच सहमतिमा व्यापार पुनः सुरु भएको हो।’

उनले नेपालले उठाएका भौगोलिक दाबीलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘यस्ता दाबीहरू न त न्यायोचित छन्, न त ऐतिहासिक प्रमाणमा आधारित। कुनै एकपक्षीय कृत्रिम दाबी स्वीकार्य हुँदैन।’

भारतले बाँकी रहेका सीमा–सम्बन्धी विवादहरूको समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक माध्यममार्फत छलफल गर्न आफू खुला रहेको पनि स्पष्ट पारेको छ ।