काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने भएपनि जे पनि गर्न भने नपाइने बताएका छन् ।
बुधबार प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मृति दिवसम आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संख्याको आधारमा गरिने निर्णय वैधानिक हुनुपर्ने बताएका हुन् ।
उनले पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आमपार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरा ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ । लोकतन्त्र चल्नका लागि वैधानिक मात्रै भएर हुँदैन वैध पनि हुनुपर्छ ।’
उनले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता नगर्ने बताए । महामन्त्री थापाले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नभएको भन्दै नेपाली काङ्ग्रेसले सत्ताको लागि सम्झौता नगर्ने बताए ।
उनले भने, ‘काङ्ग्रेस पार्टीले चुनाव लड्छ, जित्न कोशिस गर्छ ।सत्तामा जान्छ, शक्तिको अभ्यास गर्छ ।त्यसकारण चुनाव महत्वपूर्ण छ र जित्ने आशा राख्ने कुरा स्वाभाविक हो ।तर, त्यो सबै कुरा होइन। सत्ता र शक्तिमा पुग्ने कुरा पनि सशर्त हो निःशर्त होइन । हाम्रा आधारभूतमूल्य र मान्यतासँग सम्झौता गर्नुपर्यो भने त्यसरी प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन ।’

प्रतिक्रिया