विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता भएको र एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको बताएकी हुन् ।
उनले ४५ वर्ष एमालेसँगको आबद्धताको स्मरण गर्दै पार्टीको हितका लागि सधैं काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।’
उनले पार्टीभित्र आफ्नो भूमिकाबारे कमिटीमा बस्नेहरूलाई थाहा हुने बताइन् । उनले आफू अहिले केन्द्रीय कमिटीमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको बताइन् । उनले आफूलाई गुट चलाउन नआउने बताइन् । उनले भनिन्, ‘मलाई गुट चलाउन आउँदै आउँदैन ।’
उनले राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने बताइन् ।
उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो। राष्ट्रपति एउटा पद हो। यो आवधिक हुन्छ। जोसुकै पनि जनताको स–सहभागिताले निर्वाचित भएर आउन सक्छन्। उनीहरूको कार्यकाल सकिएपछि आफ्नो सामान्य जीवनमा फर्कन सक्छन्।’

प्रतिक्रिया