नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुग्यो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यसबीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याजलगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यसम्पादन समीक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए।

उनकाअनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरुसहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।

शाक्यकाअनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युतप्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा देशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ ।

आगामी वर्ष यो संख्या घटाउने लक्ष्य लिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ । उनले भने, ‘गतवर्ष २०८१/८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिपभएको थियो । जुन यो वर्ष घट्ने क्रममा रहेको छ । घटिमा १० प्रतिशत जति ट्रिपकम गरी विश्वसनियता बढाइने छ ।’

त्यस्तै नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ । राष्ट्रिय विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत रहेको छ।