यस्तै हुने हो भने देश के होला !


काठमाडौं । शहीद गंगालाल अस्पतालका चिकित्सक डा. रामेश कोइरालाले देश छोडेकोप्रति राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू दुःखी भएको बताएका छन् । कोइरालाले सामाजिक संजालमार्फत राजीनामाको घोषणा गरेपछि मिश्रले कोइरालाको पलायनले आफू दुःखी बनेको बताएका हुन् ।

बुधबार कोइरालाले राजीनामा दिँदै भनेका छन्, ‘उपरोक्त सम्बन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।’

कोइरालाले यसरी राजीनामा दिएपछि मिश्रले भनेका छन्, ‘डा रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा कहिल्यै मिलेन । ‘मार्ग परिवर्तन’ गर्नुअघि पनि मिलेन। उनी मलाई अधिकांश स्थितिमा शुरूदेखि नै अति तुच्छतापूर्वक खेदिरहने थोरै ‘बौद्धिक’ मध्येका एक थिए । स्थिति यतिसम्म अपाच्य भयो कि मैले उनलाई ट्विटरमा ब्लक गरिदिएँ र तत्काल उनले पनि मलाई ब्लक गरिदिए । तर आज उनले गङ्गालाल र देश छोडेर गएकोमा अत्यन्तै दुःखी छु । हण्डर–ठक्कर सहेर, सरकारी अस्पतालमा सरकारी तलब खाएर, विदेश गएको भए महिनामैँ दशौँ लाख कमाउने अवसर छाडेर उनी जत्तिको मानिस जसरी नेपाल बसेका थिए, र उनले जेजस्तो सेवा दिएका थिए, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन। म तपाईँलाई नमन गर्छु।’

यस्तो छ मिश्रको भनाई

अत्यन्तै दु:खी छु !
डा रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा कहिल्यै मिलेन। ‘मार्ग परिवर्तन’ गर्नुअघि पनि मिलेन। उनी मलाई अधिकांश स्थितिमा शुरूदेखि नै अति तुच्छतापूर्वक खेदिरहने थोरै ‘बौद्धिक’ मध्येका एक थिए । स्थिति यतिसम्म अपाच्य भयो कि मैले उनलाई ट्विटरमा ब्लक गरिदिएँ र तत्काल उनले पनि मलाई ब्लक गरिदिए । तर आज उनले गङ्गालाल र देश छोडेर गएकोमा अत्यन्तै दुखी छु। हण्डर–ठक्कर सहेर, सरकारी अस्पतालमा सरकारी तलब खाएर, विदेश गएको भए महिनामैँ दशौँ लाख कमाउने अवसर छाडेर उनी जत्तिको मानिस जसरी नेपाल बसेका थिए, र उनले जेजस्तो सेवा दिएका थिए, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन। म तपाईँलाई नमन गर्छु । देशको वर्तमानको पीडा र भविष्यमा आउने अझ गम्भिर अवस्था कसले बुझिदिने ! गत चार वर्षमा (२०२१–२०२५) ८,६२४ नयाँ डाक्टरहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता भए । तीमध्ये ६,३६८ जनाले विदेश जाने हेतुले Good  Standing Certificate  प्राप्त गरे ।

रामेशजी,
एकबारको जिन्दगी हो। तपाईँले असाधारण स्तरको सार्वजनिक सेवा गरिसक्नुभएको छ। जे पाउनु भएन, त्यसका लागि पश्चताप गर्नु पर्दैन (वास्तवमा यो स्थिति आउनमा तपाईँहरूजस्ताको चरम राजनीतिक आग्रह त्यत्तिकै जिम्मेवार छ)। जहाँ रहनु हुन्छ, जे गर्नु हुन्छ–खुसी र सुखी रहनोस् । धेरैधेरै शुभकामना व्यक्त गर्दछु। अत्यन्तै दुःखी । यस्तै हुने हो भने देश के होला ! नमरी बाँचे कालले साँचे कुनै दिन तपाईँको तुच्छताका बारे बसेर गफ गर्दै हाँसौँला !’

यस्तो छ कोइरालाको  राजीनामा पत्र;

श्रीमान् कार्यकारी निर्देशक,

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,

बाँसबारी, काठमाडौं,

विषय: राजीनामा दिएकोबारे।

महोदय,

उपरोक्त सम्बन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।

सो अवधिबीच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरूरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।

म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं गगन थापा, प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु।

मलाई यस केन्द्रमा बिताएको २५ वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ।

धन्यवाद।

-रामेश कोइराला।