काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला निरर्थक भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको बताएका हुन् ।
उनले भने, ‘लोडसेडिङकाबारेमा उठाइएको प्रश्नलाई गम्भीरतापूर्वक लिएको छु । हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु । लोडसेडिङको कल्पना गर्नु निरर्थक भइसकेको छ । अब लोडसेडिङ हुनेवाला छैन । त्यसैले अब लोडसेडिङको तालिकाको पुनरावृत्ति हुने कुरा कल्पानाबाहिरको विषय भइसकेको छ।’
उनले हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको बताए । उनले भने छिमेकी मुलुकमा विद्युत निर्यात बढाउन काम गरिरहेको बताए ।
उनले भने, ‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ ।’

प्रतिक्रिया