संसदमा प्रधानमन्त्रीको सम्बोधनः तुर्कमेनिस्तान भ्रमणदेखि रास्वपा र माओवादीलाई कटाक्षसम्म(पूर्णपाठ)


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विथोलिएको राजनीतिलाई लयमा फर्काउने काममा लागेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने, राजनीति र नीतिमा उत्पन्न अस्थिरतालाई अन्त्य गरी नीतिगत स्थिरता कायम गर्ने, थालेको काम सक्ने– प्रतिनिधिसभाको यस कार्यकालमा हुन नसक्ने कामलाई थाती राख्ने, र मुलुकलाई बोझ बनेका असान्दर्भिक योजना/कार्यक्रमहरु खारेज गर्ने क्रममा रहेको बताए । प्रधानमन्त्री ओलीले आज संसदमा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित नभएको तथा देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नुपर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तरराष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’

अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने पुनः स्पष्ट गर्दै प्रधानमन्त्रीले लोकतन्त्रको सम्वद्र्धनका लागि नभई त्यसको उपभोग गर्ने त्यसको हुर्मत लिने अभिष्ट भएकाहरुले प्रणालीमाथि प्रहार गर्न खोजे पनि आफूहरु प्रणालीको रक्षाका लागि दृढ भएको बताए ।

उनले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु– अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ । बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भने अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो, अनि नढलेपछि त्यति रूचि छैन यो सरकार भन्नेतिर हाम्रो भन्न पनि भ्याइहाल्ने फेरि । कस्तो अचम्म ?’