काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रोश पोखेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाका सभापति रवि लामिछाने र रास्वपाका सांसदहरूमाथि आक्रोश पोखेका हुन् ।
उनले सदनलाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको भन्दै आक्रोश पोखे । रास्वपाले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर आरोप लगाइहेको भन्दै प्रधानमन्त्री आक्रोशित भएका हुन् ।
उनले रवि लामिछानेलाई सरकारले प्रतिशोध नसाँधेको बताए । उनले सहकारीमा गरेको बचत हिनामिना गर्न सयौँ व्यक्तिमाथि मुद्दा चलेको तर रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधिएको भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो ? भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने छ। त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि छ।’
उनले सदनमा देश र जनताको हितमा केन्द्रित बहस गर्नुपर्ने बताए । उनले भने, ‘देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ ।’
प्रधानमन्त्रीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण रहने बताए । उनले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु– अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ ।’
प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेकपा माओवादी केन्द्रतर्फ ईंगित गर्दै अस्थिरता चाहनेले बेलाबेला सरकार ढल्ने भनेर हल्ला पिट्ने गरेको टिप्पणी गरे । उनले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भने अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो, अनि नढलेपछि त्यति रूचि छैन यो सरकार भन्नेतिर हाम्रो भन्न पनि भ्याइहाल्ने फेरि ।’

प्रतिक्रिया