काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक बिगो महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपराध स्वीकार गरिसकेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बर्तौलाले लामिछानेले जमानतमा छुट्न पाउँ भन्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएपछि उनले घुमाउरो तरिकाले अपराध स्वीकार गरेको बताएका हुन् ।
उनले भने, ‘रवि लामिछानेले बिगो स्वीकार गरेर जमानतमा छुट्न पाउँ भन्ने निवेदन रुपन्देही जिल्ला अदालतमा दिए । बिगो स्वीकार गरेर घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसके ।’
बर्तौलाले लामिछानेको यो कार्यले उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको ‘राजनीतिक प्रतिशोध’ भन्ने धारणा उदाङ्गो भएको बताए । प्रतिनिधिसभा बहिस्कार गरेर मिनी संसद्मा सहभागी भई नौटङ्की राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गरिरहेका बताए ।
उनले भने, ‘यो संसद्को मूल बैठक उहाँहरू बहिष्कार गर्नुहुन्छ । तर, यही मूल सदनले दिएको विजनेश सम्पादन गर्ने संसदीय समितिहरू त्यहाँ उहाँहरू काम गरिरहनुभएको छ । ‘एकातिर बहिष्कारको नाटक गर्दै हुनुहुन्छ । अर्कोतिर मिनी संसद्मा सहभागी हुनुहुन्छ । यो संसद्मा बहिष्कार गरेको के अर्थ ? के का लागि जनतामा भ्रम पार्न खोज्दै हुनुहुन्छ ?’
उनले उनीहरूले प्रधानमन्त्री मन्त्रीविरुद्ध र आफूलाई मन नपर्ने राजनीतिक पार्टी र नेताहरुविरुद्ध सङ्गठित गालीगलौज गरिरहेको बताए ।
उनले भने, ‘उहाँहरुले अहिले संसद बहिष्कार गर्नुभएको छ । तर, बाहिर गएर सामाजिक सञ्जालमा प्रवेश गरेर छताछुल्ल ढंगबाट, संगठित ढंगबाट प्रधनमन्त्रीका विरुद्धमा, मन्त्रीका विरुद्धमा, आफूलाई मन नपर्ने राजनीतिक दलका नेता र सांसदहरूका विरुद्धमा गालीगलौजका शब्दहरू प्रयोग गर्नुहुन्छ । अहिले संसद्को लाइभ चलिरहेकै बेलामा सुरु भयो उहाँहरूबाट के के कमेन्ट आए अनुमान लगाउन सकिन्छ । कतिपय कुरा भन्न गाह्रो छ ।’ उनले यस्ता विषयले आफैलाई सिध्याउने बताए ।

प्रतिक्रिया