भैरहवा । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्युनतम सुविधा समेत नदिएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली कारागारको अनुगमनमा पुगेको छ ।
मानवअधिकार आयोगका सदस्य लिली थापा, आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसी सोमबार कारागारको अनुगमनमा गएका छन् । कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा केही दिनयता समाचार प्रकाशन भइरहेका छन् ।
केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रविलाई भेट्न पुगेका थिए । भट्टराईसँग लामिछानेले आफूलाई पत्रपत्रिका पनि पढ्न नदिएको गुनासो गरेका थिए ।
भट्टराईले रविसँगको भेटपछि यस्तो त पञ्चायतमा पनि नहुने भन्दै सरकारको आलोचना गरेका थिए । त्यसपछि रविलाई साँघुरो कोठामा राखेको र उनले असुविधा भोगेको समाचार आएका थिए । यस्ता समाचार आएपछि कारागार प्रशासनले अन्य कैदीलाई जस्तै रविलाई सुविधा दिएको भन्दै समाचारप्रति आपत्ति जनाएका थियो ।

प्रतिक्रिया