‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ को मस्यौदाप्रति प्रष्ट विमति छः महामन्त्री शर्मा


काठमाडौं । नेकपा कांग्रेसले पनि निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ प्रति असहमति जनाएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दललाई मूल्यांकन जनताले र निर्देशित संविधानले गर्ने भएको बताएका हुन् । उनले निर्वाचन आयोगको मस्यौदाप्रति विमति रहेको बताए ।

उनले भने, ’व्यक्तिगत धारणा पनि संस्थागत दृष्टिकोण पनि ! राजनीतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो । निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदाप्रति प्रष्ट विमति छ । नमिल्ने विधिको बाटो बहादुर भवनमै टुंगियोस् ! जय नेपाल !’

सत्तारुढ अर्को दल नेकपा एमालेले पनि जनाएको छ । एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको बताएका छन् ।

सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको असहमति रहेको उनले बताए । आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य केही मध्यम तथा साना दलहरूको बैठकले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्कन कार्यविधि’ संविधानविपरीत रहेको निष्कर्ष निकालेको थियो ।

बुधबार माओवादी अध्यक्ष प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै विरोध गरेको थियो । बैठकले यसकाविरुद्ध आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको माओवादीले जनाएको छ ।