गतवर्षको एनपीएलबाट क्यानले कमायो २ करोड ४६ लाख नाफा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले गतवर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण सार्वजनिक गरेको छ । क्यानले बिहीबार कार्यसमिति बैठकमा खर्च विवरण सार्वजनिक गरेको हो ।

क्यानका अनुसार प्रतियोगितामा २७ करोड ६९ लाख ६४ हजार १ रुपैयाँ आम्दानी भएकोमा २० करोड १५ लाख ७३ हजार ५९९ रुपैयाँ प्रतियोगिता सम्पन्न गर्न खर्च भएको छ ।

यसैगरी आठ क्लबसँग राजस्व बाँडफाँट गर्नुअघिको आम्दानी सात करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको छ । यसमध्ये आठ फ्रेन्चाइज क्लबलाई ५० प्रतिशत समान रूपमा वितरण गरेपछि क्यानले तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयाँ आम्दानी भएको जनाएको छ ।

प्रतियोगिताबाट क्यानको कुल आम्दानी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ गरेको जनाएको छ । प्रतियोगिताको पहिलो संस्करण गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो ।