ज्ञानेन्द्र शाही र कुलमानलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ ।

उनलाई अमेरिकाको न्युयोर्कस्थित ‘हामी नेपाली ग्लोबल’ संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । न्युयोर्कमा आयोजना भएको यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ ।

अवार्ड पाएपछि शाहीले विदेशमा हुने सबै नेपालीहरुप्रति आभार व्यक्त गर्दै अवार्डको श्रेय जुम्ली, कर्णालीका साथै देश विदेशमा रहेका सुशासनको पक्षमा बोल्ने नेपालहरुप्रति समर्पित गरेका छन् ।

घिसिङले पनि अवार्डका आभार व्यक्त गरेका छन् । घिसिङ गत शुक्रबारदेखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उनी ती मुलुकहरुको भ्रमणमा गएका हुन् । उनको यो भ्रमण आगामी एक महिनासम्म चल्ने छ ।