काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइराला र पुष्पलाल श्रेष्ठ कुनै दल विशेषका नेता नभएको बताएका छन् ।
आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोहमा प्रधानमन्त्री ओलीले भारतीय नेताहरु कठिन समयमा हुँदा बिपीले लुकेर काम गरेको बताए ।
उनले भने,‘अघिल्लो पुस्ताकालाई बीपी कोइरालाले सङ्घर्षका लागि बाटो देखाएका छन्। राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन्। यी लडाइँमा बिपी प्रेरणाको मियो हुनुहुन्थ्यो। अब बिपी कोइराला र पुष्पलालहरू कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्।’
उनले राजनीतिमा कतिखेरको जेल परिन्छ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए । उनले भने, ‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने बीपी र हामीहरूलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ ।’

प्रतिक्रिया