‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने


काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ चुरे तथा वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गर्ने निर्णय गरेको छ ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालका अनुसार इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित ‘प्रकाश मानव अधिकार पुरस्कार’ छनोट समितिले यादवलाई पुरस्कार दिने निर्णय गरेको हो । चालिस जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आएका यादवको नाम छनोट गरिएको उनले जानकारी दिए ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव विसं २०७४ देखि चुरे संरक्षण तथा वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

यही साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद  ५० हजारसहित सम्मान गरिने छ । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा हरेक वर्ष इन्सेकले पुरस्कार प्रदान गर्दै आएको छ ।