हिमालको जल: नेपालको समृद्धिको आधार


-डा. रामकृष्ण तिमल्सेना ।

अर्थशास्त्र मूलतः स्रोतहरूमाथिको नियन्त्रण र तिनको विवेकपूर्ण उपयोगको विज्ञान हो। कसले, कसरी, कुन उद्देश्यका लागि स्रोत प्रयोग गर्छ भन्ने सवालले नै राष्ट्रिय नीति, समृद्धि र सत्ताको रूपरेखा निर्धारण गर्छ। जसले स्रोतको प्रभावकारी प्रयोग गर्छ, उसैले समृद्धिको मूल चाबी पाउँछ। यो सिद्धान्तलाई आधार मानेर नेपालले अब आफ्नो सबैभन्दा विशिष्ट र दुर्लभ स्रोत, हिमालयन शुद्ध झरना पानी (High Himalayan Spring Water)लाई आर्थिक विकासको एक प्रमुख आधार बनाउनुपर्छ।

नेपालको विशेषता: हिमालय : शुद्ध पानीको खानी

नेपालको प्रमुख प्राकृतिक सम्पत्ति हिमालय हो। तर हिमालको मुख्य अर्थ केवल उचाइ र पर्यटकीय आकर्षण मात्र होइन, त्यहाँबाट आउने शुद्ध, खनिजयुक्त, अति दुर्लभ जल हो, जुन हजारौं वर्ष पुरानो हिमनदीहरूको शुद्धिकरण प्रक्रियाबाट बनेको हुन्छ। यो पानीको गुणस्तर वैज्ञानिक रूपमा प्रमाणित रूपमा अन्य कुनै पनि सामान्य पानी, दूध, जुस ,वाइन, बियर, वा पेट्रोलभन्दा धेरै महँगो र बहुमूल्य हुनसक्छ। युरोप, अमेरिका, जापान लगायतका विकसित देशहरूमा एक लिटर शुद्ध हिमालयन स्प्रिङ वाटरको मूल्य $3 देखि $10 सम्म पर्न सक्छ, जुन आजको मितिमा पेट्रोलभन्दा पनि महँगो हुन्छ।

आयात होइन, निर्यातको बाटो: जल निर्यातमा सम्भावना

नेपाल आज पनि मुख्यतः आयातमा भर पर्ने देश हो। पेट्रोल, खाने तेल, चिनी, लत्ताकपडा, औषधि, इलेक्ट्रोनिक्स, यहाँसम्म कि प्याकेज्ड पानीसमेत भारत वा तेस्रो मुलुकबाट ल्याइन्छ। तर अब नेपालको नीति यस्तो हुनुपर्छ कि के बेच्न सकिन्छ?भन्ने प्रश्नले आर्थिक मोडेल निर्माण गरोस्, न कि के किन्नुपर्छ?भन्ने प्रश्नले। हिमालयन स्प्रिङ वाटर नै यस्तो स्रोत हो जसलाई न्यूनतम लागतमा, दीर्घकालीन रूपमा, पर्यावरणमैत्री ढंगले संकलन र निर्यात गर्न सकिन्छ।

किन यो आर्थिक दृष्टिकोणले व्यवहारिक छ ?

. बहुल अन्तर्राष्ट्रिय माग: विश्वमा हेल्थ ट्रेन्ड परिवर्तन भइरहेको छ। अब ‘organic’, ‘natural’, ‘mineral-rich’, ‘alkaline’ जस्ता शब्दहरू बजारमा अत्यन्त शक्तिशाली मूल्य निर्माणकर्ता बनेका छन्।

. बजारको मूल्य: एक लिटर पेट्रोलको मूल्य $1.2 जति छ भने, एउटै बोतलमा भरिएको ‘Himalayan Natural Spring Water’ को मूल्य $5 सम्म पुग्न सक्छ।

. न्यूनतम उत्पादन लागत: पानी त हिमाल आफैंले दिएको हो। प्रविधि, प्याकेजिङ्ग र ब्रान्डिङमा मात्र लगानी आवश्यक हुन्छ।

. पर्यावरणमैत्री निर्यात: अन्य खनिज जस्तै तामाको खानी, सुन, ढुंगा आदिको जस्तो पर्यावरणमा नोक्सानी पुर्‍याउने प्रक्रिया होइन।

निर्यात रणनीति र नीतिगत प्रस्तावहरू

.. सार्वजनिक-निजी साझेदारी (PPP Model)
सरकारले जग्गा, स्रोतको अनुमति, सुरक्षाको जिम्मेवारी लिई निजी क्षेत्रले उत्पादन, प्याकेजिङ्ग र निर्यातको जिम्मा लिने सहकार्य।

.  हिमाल जल विकास बोर्ड

‘Petroleum Board’ जस्तै एउटा विशेष ‘Himalayan Water Development Authority’ गठन गरिनुपर्छ, जसले कानुनी, वैज्ञानिक, बजार र लगानी क्षेत्रको नियमन गर्छ।

. उच्चस्तरीय ब्रान्ड निर्माण

‘Bottled at 4000 meters’, ‘Untouched by humans’, ‘Prehistoric Himalayan Source’ जस्ता शब्दले अन्तर्राष्ट्रिय बजारमा नेपाली पानीलाई विलासी वस्तु (Luxury Commodity) को रूपमा चिनाउन सकिन्छ।

. प्राथमिक बजार लक्ष्य

शुरुआतमा जापान, कोरिया, अमेरिका, युके, युएई, सिंगापुरजस्ता उच्च आय भएका देशहरूलाई लक्षित गर्ने। त्यहाँका फिटनेस सेन्टर, योग सेन्टर, अन्तर्राष्ट्रिय एयरपोर्ट, फाइभ स्टार होटलमा प्रिमियम पानी सप्लाई गर्ने।

सावधानी र दीर्घकालीन सोच:

• जल स्रोतको अत्यधिक दोहन नगर्ने।
• स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउनु पर्ने ता कि वसाइ सराइ रोकियोस। जसबाट रोजगारी, मुनाफा हिस्सेदारी, सामुदायिक विकाससंभव होस्।

• आयातमा निर्भर नभई, निर्यातमा आधारित अर्थतन्त्र निर्माण गर्न मद्दत गरोस्।

जल नै बल हो:

नेपालको भौगोलिक स्थिति, जलवायु विविधता र शुद्ध जल स्रोतको शक्ति अब उपयोगमा ल्याउने समय आएको छ। अर्थशास्त्र भनेको केवल पैसाको होइन- स्रोतमाथिको नियन्त्रणको विषय हो। हिमालयले दिएको यो अनमोल उपहारलाई अब उत्पादन र निर्यातको रणनीतिमा बदल्न सके, नेपाल ‘पानी निर्यातक राष्ट्र’ बन्नेछ। अब समय छ -नेपालले पेट्रोल होइन, पानी बेचेर आर्थिक स्वाभिमान बनाउने। यो जल त केवल जीवनको स्रोत होइन। यो राष्ट्रको आर्थिक पुनर्जागरणको शुद्ध सम्भावना हो।