-डा. गोविन्दशरण उपाध्याय ।
चार्वाक् व्यक्ति थिए वा भौतिकवादी सम्प्रदाय थियो भन्ने कुरा अझैं विवादित छ । विद्वानहरूका आ–आफ्ना दृष्टिकोण छन् तर चार्वाक् विचारधारा वा दार्शनिक पद्दति भौतिकवादी थियो भन्ने विषयमा सबैको अभिमत मिल्छ । साथै, चार्वाक् दार्शनिक चिन्तनका बीजहरू ऋग्वेदमा समेत भेटिएको हुँदा यो वैदिक सभ्यतामा विकसित भएको एउटा सम्प्रदाय हो भन्ने विषयमा पनि विवाद छैन । परम्परागतरूपमा वैदिक, जैन, बौद्ध, शाक्त, शैवआदि दार्शनिकहरूले चार्वाक् दार्शनिक चिन्तनको आलोचना गरेका छन् । तर भारतवर्षमा मार्क्सवादी चिन्तनको प्रभाव संगै चार्वाक् दार्शनिक चिन्तनलाई माया गर्ने, सहानुभूति प्रकट गर्ने र माक्र्सवादको भौतिकतावादी चिन्तनसँग सामन्जस्य देख्ने समुदायहरू बढेका छन् ।
ऐतिहासिक रूपमा चार्वाक् चिन्तन निकै प्राचीन हो भने मार्क्सवादी चिन्तनको विकास १८५० पछि भएको हो । नेपालमा राजा जयपृथ्वी बहादुर सिंहको मानवतावादमा माक्र्सवादी चिन्तनको पहिलो प्रभाव परेको मान्न सकिन्छ भने वि.स. २००४ सालमा कम्युनिस्ट पार्टीको स्थापना सँगै नेपालमा माक्र्सवादी चिन्तनले आधिकारिक रुपमा प्रवेश पाएको मान्न सकिन्छ । भारतका देवीराम चट्तोपाध्याय, कौसाम्बी, राहुल सांस्कृत्यायाँनआदिका लेखनहरूले चार्वाक् दार्शनिक चिन्तनलाई माक्र्सवादी चिन्तनको निकटसहयोगी वा माक्र्सवादी भौतिकवाद र चार्वाक्को भौतिकवादमा ‘वैज्ञानिक’ दृष्टिकोण भएको व्याख्या गर्नेहरूको लर्को लागेको पढ्न सकिन्छ ।
नेपालका मार्क्सवादीहरूमा वेदुराम भुषाल, विष्णु प्रभात, गोविन्द भट्ट, मदनमणि दीक्षित, गोपीरमण उपाध्याय, राजाराम शर्मा, मोहन वैद्य, कृष्ण अधिकारीआदि सबैजसोले चार्वाक् दार्शनिक चिन्तनलाई ‘निकै बैज्ञानिक भएको र प्रत्ययवादीले चार्वाक्हरूप्रति अन्याय गरेको आरोप’ लगाएको पढ्न पाइन्छ । निश्चय नै वैदिक र वैदिक सभ्यताभित्र विकसित भएका अवैदिक दार्शनिकहरूले पनि चार्वाक्हरूको कठोर आलोचना गरेका छन् तर कार्लमाक्र्सको अर्थशास्त्रीय दार्शनिक विचारधारासंग चार्वाक् दार्शनिक चिन्तनको गोरूबेचेको नाता सम्म छैन । चार्वाक् (लोकायत) दार्शनिक चिन्तनसित प्राचीन आध्यात्मवादी दार्शनिकहरू पूर्वाग्रहपूर्ण छन् भन्नु एउटा कुरा हो भने चार्वाक्को दार्शनिक चिन्तन भौतिकवादी दृष्टिकोण राख्ने भएकैले विज्ञानसम्मत र कार्लमाक्र्सको भौतिकवादी चिन्तन निकट छ भन्नु अर्को कुरा हो ।
साच्चिकै भन्ने हो भने आधुनिक विज्ञानमा आधारित भौतिकवादी चिन्तनसंग चार्वाक् दार्शनिक प्रतिमानहरूका केही तत्थ्यहरूमा समानता भेटिनु नितान्त काकताली हो । त्यसैगरी कार्लमाक्र्सले प्रतिपादन गरेको भौतिकवादी दृष्टिकोण पनि यदि आधुनिक विज्ञानका प्रतिमानहरूसंग केही साम्यता राख्छ भने त्यो पनि काकताली नै हो भन्न मिल्छ । किनभने माक्र्स आफैंमा भौतिकशास्त्री वा बस्तु–बैज्ञानिक थिएनन् । उनी अर्थशास्त्री थिए र अर्थशास्त्रीय दृष्टिकोणले विश्वलाई बुझ्ने र बुझाउने प्रयत्न गरेका थिए । माक्र्सवाद र चार्वाक् दार्शनिक चिन्तनका विच समानता देख्नु मूलतः आध्यात्मिक संस्कृतिप्रतिको पूर्वाग्रह र हरेक चिन्तनलाई माक्र्सवादी खांचामा ढाल्ने अतिवादी दृष्टिकोण नै हो । यस्तो दृष्टिकोणले बुद्ध र बौद्ध दार्शनिक चिन्तनलाई पनि माक्र्सवादी वा वैज्ञानिक दृष्टिकोणका रूपमा व्याख्या गर्छ । भौतिकवाद र बौद्ध दृष्टिकोणमा कुनै पनि प्रकारको समानता छैन र हुनैसक्दैन ।
चार्वाक् दार्शनिक चिन्तन सरल, सहज र व्याबहारिक छ । अन्य वैदिक, बौद्ध वा जैन दार्शनिक चिन्तनझैं शास्त्रीय, शास्त्रार्थपूर्ण र धेरै साहित्य भएको छैन । सर्वसाधारण मान्छेको आवश्यकताको सोझै प्रतिनिधि भएको हुँदा यसलाई लोकायत पनि भनिएको हो । यसको तत्व–मीमांसा, ज्ञान मीमांसा तथा नीति मीमांसा निकै सरल तथा नीतिशास्त्रका दृष्टिकोणले केही अराजक पनि छ । सारमा, सम्पूर्ण चार्वाक् दृष्टिकोणले अध्यात्मिक प्रतिमान जसमा स्वर्ग, नर्क, आत्मा–परमात्मा, सदाचार, अमरता र कर्मफलहरूको अस्तित्व र प्रभावकारितालाई पूर्ण निराकरण गर्छ ।
अर्कोतिर कार्लमाक्र्सले प्रतिपादन गरेको भौतिकवादी चिन्तन चाल्र्स डार्विनबाट अत्याधिक प्रभावित देखिन्छ । यद्यपि कार्लमाक्र्सले चाल्स–डार्बिनलाई श्रेय दिएका छैनन् तर पनि चेतनाको विकास होस् वा मानवीय विकाससबैतिर डार्बिनको विकासवादी सिद्धान्तलाई अंगिकार गरेका छन् । डार्विनको विकासवादले वैश्विक विकासको धार्मिक दृष्टिकोणलाई अस्वीकार गर्दै प्राकृतिक विकासको सिद्धान्तलाई स्वीकार गर्छ । डार्बिन, माल्थस, स्पेंसरआदिको विकासवादी अवधारणामा धार्मिक प्रतिमानहरू स्वाभाविक रूपले आकर्षित नहुने हुँदा स्वतः भौतिकवाद स्थापित हुन्छ । उदारहणका लागि फ्रेन्च दार्शनिक देकार्तको द्वैतवादी दार्शनिक चिन्तनमा ईश्वरको लागि कुनै स्थान छैन तर देकार्त नास्तिक होइन । देकार्तले उठान गरेको दृष्टिकोणको विकास र विस्तार डेभिड ह्यूम हुँदा हेगल, माक्र्समा भएको बुझ्नुपर्छ ।
अन्य शास्त्रीय विधाहरूझैँ दर्शनशास्त्रका पनि केही स्थायी विधाहरू छन् जसमा तत्व, ज्ञान, नीति, तर्क तथा मुल्य मीमांसाहरू पर्छन् । यदि उपर्युक्त प्रतिमानहरू मध्ये एउटा विषयको ठीकठीक उठान र व्याख्या गरिएको छैन भने त्यो दार्शनिक चिन्तन मानिन्न । चार्वाक् दार्शनिकहरूले संक्षिप्त रूपमा सबै विषयमा आफ्नो पक्ष राखेका छन् । नेपाली तथा भारतीय माक्र्सवादीहरूले चार्वाक्हरूको धर्म, संस्कृति तथा परम्परा विरोधी वा बिद्रोही चिन्तन निकै मन परेको देखिन्छ । मूलतः कार्ल माक्र्सले खुट्टामा उभ्याएको भनेको ‘पक्ष, प्रतिपक्ष र मिलन’को अनन्तकालीन चक्रलाई ‘विद्रोह’का रूपमा व्याख्या गरेर नेपाली माक्र्सवादीहरूले चार्वाक् दर्शनको देवत्वकरण (माक्र्सवादीकरण) गर्ने अथक प्रयत्न गरेको देखिन्छ । के विद्रोही हुनु, परम्परालाई अस्वीकार गर्नु र धार्मिक प्रतिमानहरूप्रति अपमान जनकरूपमा प्रस्तुत हुनुनै “बैज्ञानिक माक्र्सवाद“ हो त ? सायद कुनै पनि चार्वाक् र बुद्धको चिन्तनमा माक्र्सवाद देख्ने वा खोज्ने स्वनामधन्यहरूसंग कुनै उत्तर छैन ।
चार्वाक् चिन्तनधारा वैदिक संस्कृतिको एउटा विद्रोही अंग हो । वैदिक संस्कृतिसंग विद्रोह गर्नेहरूमा जैन तथा बौद्ध पनि पर्छन् । चार्वाक्, जैन तथा बौद्धहरू वैदिक संस्कृतिका कतिपय परम्परा वा सिद्धान्तसंग असहमत आफुलाई अवैदिक भन्ने वैदिक संस्कृतिका अंग हुन् । यही कुरामा घृणावादी र एकलवादी बुद्धिष्ट तथा माक्र्सवादी चिन्तन बाहेक अन्य कुनै विचारधारा विज्ञान सम्मत हुन्सक्छन् भन्ने तत्थ्यलाई स्वीकार गर्न नसक्ने माक्र्सवादी चिन्तकहरूले असहमति जनाउने गर्छन् । निश्चय नै धार्मिक प्रयोजनका लागि जैन र बौद्ध हिन्दू होइनन् तर इतिहासले वैदिक संस्कृति विरुद्ध विद्रोह गरेका समुदाय भएको हुँदा अवैदिक हुनै सक्दैनन् । चार्वाकले वैदिक धर्म, संस्कृति तथा परम्पराप्रति आलोचनात्मक दृष्टिकोण राख्दैमा वैदिक संस्कृतिको अंगबाट अलग हुँदैनन् । माक्र्सवादीहरूले चार्वाक् चिन्तनमा द्वन्दात्मक भौतिकवाद वा प्रगतिशील बैज्ञानिक सोच देख्नु भ्रम हो ।
चार्वाक् र माक्र्सवादी चिन्तनको तुलना हुनै सक्दैन । माक्र्सवादी चिन्तन बहुआयामिक र निकै सुगठित एवं राजनैतिक रूपमा प्रभावकारी छ । माक्र्सवादमा धेरै अध्ययन/अध्यापन तथा विविधिकरण भएका छन् । कसैले स्वीकार गरे पनि नगरे पनि वर्तमान मानव–चिन्तनमा माक्र्सवादको व्यापक प्रभाव छ । माक्र्सवादी चिन्तनको उदयले अधिकारवादले राज्यसत्तालाई झुकाएको छ । शिक्षा, स्वास्थ्य, आर्थिकस्तरमा माक्र्सवादको प्रभावकारी उपस्थिति छ । यस विपरित चार्वाक् दार्शनिक धारा “लोकायत“सम्म सीमित छ । राजनैतिक पटलमा कुनै उपस्थिति छैन । चार्बाक दार्शनिक चिन्तनकै कारण समाजको उन्नति वा अवनति भएको कुनै साक्ष छैन । एउटा प्राचीनतम नास्तिक दार्शनिक दृष्टिकोणका रूपमा चार्वाकको उपस्थिति बाहेक समाज, राजनीति, अर्थनीतिआदिमा यसको कुनै फलवादी उपस्थिति छैन । चार्वाक् चिन्तनलाई माक्र्सवादी दृष्टिकोणको सहयोगी मान्नु वा चार्वाकको नास्तिकतावादी दृष्टिकोणलाई “प्रगतिशीलताको सूचक“का रूपमा व्याख्या गर्नुको कुनै औचित्य छैन । चार्वाकलाई प्रगतिशील देख्नु र वेदलाई भौतिकवादको आरम्भ ठान्नु एकै प्रकारको पूर्वाग्रही चिन्तन हो ।
नेपाली र भारतीय माक्र्सवादीहरूमा चार्वाक् चिन्तनको पक्षमा अचम्मको मोहनी देखिन्छ । निरपेक्ष दृष्टिकोणले विचार गर्ने हो भने चार्वाक् चिन्तन तथा प्राचिन ग्रीकेली सोफिस्टहरूको दृष्टिकोणमा केही समानता भेट्न सकिन्छ भने समकालीन दार्शनिकहरूमा जर्मन दार्शनिक नित्सेको चिन्तनसंग चार्वाक् दर्शनको तुलना गर्न मिल्छ । नित्सेले यहुदी, इसाई तथा मुस्लिमहरूको समवेत आस्थाको केन्द्र ‘यहोवा’लाई मरेको घोषणा गरेर अब्रहमिक आस्तिकतामा प्रहार गरेका थिए भने चार्वाकले पनि ईश्वर, स्वर्ग–नर्क, पापपुण्य धार्मिक कर्मकाण्डलाई अस्वीकार गरेर शरीरवादी अवधारणाको पुष्टी गरेका छन् । चार्वाकहरूको तुलनामा नित्सेको ‘मान्छे’ धेरै महत्वपूर्ण छ । नित्सेले शक्ति आर्जनलाई महत्व दिएका छन् भने चार्वाक केवल शारीरिक सुखप्राप्तिमा केन्द्रीत छन् । सायद, कार्लमाक्र्सका लागि केवल शारीरिक सुखप्राप्ति गर्नुमात्र उदेश्य थिएन होला !
पुराना माक्र्सवादी गोपीरमण उपाध्याय, नारायण चालिसे, वेदुराम भूषाल, विष्णु प्रभात, राजाराम शर्मा, मोदनाथ पौडेलजस्ता माक्र्सवादी धाराका चिन्तकहरूले ‘सनातन वैदिक संस्कृतिले चार्वाक् जस्तो प्रगतिशील, बैज्ञानिक तथा भौतिकवादी दार्शनिक धारालाई अन्यायपूर्वक दमन गरेको’ भन्ने आशयका आरोप लगाउंदै चार्वाक् दार्शनिक चिन्तनलाई विस्तार हुन नदिन हिन्दूहरूले षड्यन्त्र गरेको भन्ने आरोप लगाउंदै हिन्दु–संस्कृतिप्रति बितृष्णा प्रकट गरेर आर्टिकल लेखेका छन् । यो उहाँहरूको दृष्टिकोण हो । तर सत्य के हो भने वेद, उपनिषद, पुराण तथा दार्शनिक ग्रन्थहरूमा चार्वाक् दर्शनका विषयमा छोटो र मीठो चर्चा भएको छ । वैदिक दर्शनशास्त्रका सार मानिने षड्दर्शन सन्दर्भमा ऋषि बृहस्पति, अजित केश कम्बली, प्रक्रुध कात्यायन र मख्खली गोशाल आदि आजीवकको नाम र मत प्रष्टसंग उल्लेख गरिएको छ ।
वेदको आलोचना गर्दैमा यदि कुनै दार्शनिक चिन्तन अस्वीकृत हुन्थ्यो भने जैन र बौद्धहरूले पनि वेदको प्रमाणिकता अस्वीकार गरेका छन् । पश्चिममा सोफिस्टहरूको चिन्तन लोकप्रिय हुन सकेन किनभने उनीहरूले अराजकतापूर्ण “देहात्मवाद“को बाटो अबलम्बन गरे । यता चार्वाक्ले प्रस्तुत गरेको प्रत्यक्ष प्रमाणवाद होस् वा पृथ्वी, जल, तेज र बायुनै परमतत्व भएको अवधारणालाई सबै दार्शनिकहरूले सम्मानजनक ठाउँ दिएर समालोचना गरेका छन् र यही तत्व तथा ज्ञान मीमांसा सम्बन्धि दृष्टिकोणकै परिपेक्षलाई सम्मान गर्दै चार्वाकलाई ‘ऋषि’को सम्मान दिएका छन् । आज पनि कुनै हिन्दू संस्कृतिमा जन्मेको व्यक्ति नास्तिक हुँदैमा अहिन्दु हुँदैन । चार्वाक् दार्शनिकहरूले व्याबहारिक रूपमा जुन उग्र देहात्मवादी (जसरी पनि शारीरिक सुख प्राप्त हुनुपर्छ, शारीरिक सुख प्राप्ति जुन विषय, कर्म वा साधनबाट प्राप्त गर्न सकिन्छ, त्यही नै श्रेय हो’ भन्ने अराजक र मर्यादाहीन चिन्तनका कारण चार्वाकहरू आलोचित भएका हुन् र अलोकप्रिय भएका हुन् – भन्ने तत्थ्यमा शङ्का गर्नु पर्दैन ।
पछिल्ला चार्वाकवादीहरूले ‘सुसभ्य चार्वाक् अर्थात् सामाजिक, सांस्कृतिक तथा सदाचारहरूको सम्मान गर्ने, तपोमय जीवन व्यतीत गर्ने तर ईश्वर, आत्मा पापपुण्यजस्ता आध्यात्मिक प्रतिमानहरूलाई भने अस्वीकार गर्ने) बाटो अबलम्बन गर्ने प्रयत्न गरे तर यस्तो प्रयत्नले ड्यामेज कन्ट्रोल हुन सकेन । फलतः चार्वाकहरूको अराजक छवि निर्माण हुँदै गयो । रह्यो, कार्लमाक्र्सको कुरा, यिनको दार्शनिक चिन्तनले कुनै पनि अराजकतालाई अस्वीकार गरेको छ । जुनसुकै माक्र्सवादी नैतिक जीवनप्रति प्रतिबन्ध हुनुपर्छ भन्ने मान्यता राख्छ । माक्र्सवादको लक्ष पूर्णसमानता हो भने माक्र्सवादको लक्ष व्यक्तिगत सुखप्राप्ति हो र यस्तो सुख प्राप्त गर्न कुनै पनि बन्धन अस्वीकार गर्ने अवधारणा हो ।
चार्वाक् दार्शनिक दृष्टिकोणको सबैभन्दा बढी आलोचना र अस्वीकार्यता यसका नैतिक विचार नै हुन् । हरेक व्यक्ति र समाजको लागि आफ्नो भाषा, संस्कृति, रितिरिवाज, मान्यताहरू नै उसको पहिचान हुन्छन् । वैदिक समाजका लागि ईश्वर, आत्मा, पुनर्जन्म, पापपुण्यको अवधारणा, कर्म र कर्मफलको विश्वास तथा कर्मकाण्ड – परम्परागत पहिचान थिए । वर्णाश्रम व्यबस्थामा यो सबै उभिएको थियो । चार्वाक्हरूले कठोरता पूर्वक उपर्युक्त मान्यताहरूलाई अस्वीकार मात्र गरेनन्, कठोर आलोचना गरे । वैदिकहरूले सम्पादन गर्ने नित्य तथा नैमित्तिक क्रियाकलापउपर “व्यग्य“ गरे । यिनको भाषा शैली निकै उद्दण्ड थियो । सेक्स र मदिराको सुखका लागि कुनै पनि सामाजिक, संस्कृतिक, धार्मिक तथा परम्परागत मान्यताहरू त्याग्नमात्र होइन कठोर आलोचना गर्न थाले । चार्वाक् दार्शनिकहरूको तत्वमीमांसा, ज्ञान मीमांसा र बैज्ञानिक दृष्टिकोणलाई यिनको उग्र स्वच्छन्दतावादी विचारधाराले हदैसम्म नोक्सान पुर्यायो । नेपाली तथा भारतीय माक्र्सवादीहरूले ‘चार्वाक् दार्शनिक चिन्तनलाई विज्ञानसम्मत’ ठान्दै गर्दा उपर्युक्त तत्थ्यहरूलाई नजरअन्दाज गरेका छन् । परिणामः नेपाली र भारतीय समाजले धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्याबहारिक प्रयोजनका लागि माक्र्सवादलाई स्वीकार गरेका छैनन् । कठोर शब्दमा भन्नुपर्दा “नेपाली र भारतीयहरू माक्र्सवादी छन् किनभने माक्र्सवादले आर्थिक, सामाजिक तथा लैंगिक समानता“को पक्षमा बोलेको छ ।
नेपाली र भारतीयहरूले माक्र्सवादलाई माया गर्नुको अर्थ : आर्थिक जीवनस्तरको सुधारको चाहना हो, आफ्नो मौलिक संस्कृति, मान्यता तथा रीतिथितिसंग सम्बन्ध तोड्नु होइन । जुन विन्दुमा चार्वाकहरू अस्विकृत भएका थिए, नेपाली र भारतीय माक्र्सवादीहरूले चार्वाकका तिनै विन्दुहरूलाई ‘विज्ञानसम्मत र प्रगतिशील’ भन्दै अगाडी बढाउने प्रयत्न गरिरहेका छन् । परिणाम प्रष्ट छ : नेपाल र भारतमा माक्र्सवाद असफल राजनैतिक चिन्तन बनेको छ । नैतिक, बैज्ञानिक, सामाजिक तथा भौतिकवादी दृष्टिकोणका सवालमा माक्र्सवाद चार्वाक् दार्शनिक चिन्तन भन्दा हजारौं गुणा सुधारिएको, नैतिक तथा संस्कृत छ । यसको अर्थ, चार्वाक चिन्तनका सबै पक्षहरू आलोचना र अस्वीकारयोग्य छन् भनेर बुझ्नु हुँदैन । चार्वाकहरूले आफ्नो तत्व र ज्ञान विषयक दृष्टिकोणमा केन्द्रीत भएर आन्दोलन चलाएको भए सम्भवतः भारतवर्ष विज्ञानको केन्द्र विन्दुका रूपमा विकसित हुने थियो ।
निश्चयनै, चार्वाक् दार्शनिक चिन्तन वैदिक धाराको एउटा विद्रोही दृष्टिकोण हो र यो लोक दर्शन पनि हो तर चार्वाक दर्शन र माक्र्सवादी चिन्तनको तुलना गर्नु र चार्वाक् चिन्तनलाई विज्ञानसम्मत, प्रगतिशील र माक्र्सवादी चिन्तनसरह वा सहयोगी ठान्नुको कुनै औचित्य छैन । वैदिकहरुले चार्वाक् दर्शनका साहित्य जलाए, चार्बाक चिन्तकहरूको दमन गरे भन्ने विषय कपोलकल्पित इतिहास हो जसको बास्तविक इतिहाससँग कुनै सरोकार छैन ।

प्रतिक्रिया