नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः विप्लव


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् ।

मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा विप्लवले आँखा अगाडि माओवादी बिग्रिदै गएको भन्दै विद्रोह गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौ । माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ।’

उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए । उनले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी रहेको बताए ।

उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरूको दोष छ । मुख्य दोषी माओवादी हो । त्यसकारण अरूलाई दोष दिएर उम्किने ठाउँ छैन । हामीले आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन पाउँछौँ ? २०५७ सालका कम्युन कहाँ गए ? बैंकका पैसा कता गए ? हस्पिटल कता गए ?’

महासचिव विप्लवले केपी ओली कम्युनिष्ट भएर नेपाल बिग्रिएको प्रचार भइरहेको बताए । उनले यस्तै प्रचार गरेर कम्युनिस्ट आन्दोलन कमजोर बनाउन लागिएको बताए ।