विपद व्यवस्थापनमा ड्रोन प्रयोग गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर


काठमाडौं । विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारसहित विपद् व्यवस्थापनमा ड्रोन प्रयोग गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ तथा नेपाल ड्रोन संघ बिच समझदारी गरिएको हो ।

समझदारी अनुसार ड्रोनको प्रयोग विपद्पछिको खोज तथा उद्धार, राहत, उद्धार सम्बन्धी सामाग्री ढुवानी एवं विपद् प्रभावित क्षेत्रको अध्ययन/अवलोकनमा प्रयोग हुनेछ ।

त्यसैगरी, भौगोलिक नक्साङ्कन तथा ’थ्री डी’ इमेजिङ, विपद्पश्चातको क्षति मूल्याङ्कन एवं सूचना संकलन तथा विश्लेषणमा पनि प्रयोग गरिनेछ । प्राधिकरणको मागअनुसार दुवै संघले पाइलटसहित निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण उपलब्ध गराउने छन् ।

सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले मिलाउनेछ । समझदारी–पत्रहरुमा प्राधिकरणका कार्यकारी प्रमुख इ. दिनेश प्रसाद भट्ट र नेपाल ड्रोन संघका अध्यक्ष राजविक्रम महर्जन एवं नेपाल मानवरहित विमान (ड्रोन) संघका महासचिव प्रवीण भट्टराईले हस्ताझर गरेका छन् ।