माओवादीको प्रश्नः प्रधानमन्त्रीज्यू, घुस डिलमा जोडिएका अर्का मन्त्रीलाई जोगाउने लाइफलाइन छ कि छैन ?


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ र भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फाल्न आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा आले मगरले भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्रीको बोलीको अर्थ नभएको बताएका हुन् ।

उनले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई सत्तारुढ दलहरू र प्रधानमन्त्री स्वयंले संरक्षण गरिरहेको आरोप लगाए । उनले भने, ‘अध्यक्ष महोदय म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ । किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ । भ्रष्टाचार गर्ने एक जना मन्त्रीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ । र थेग्न नसक्नेपछि बल्लबल्ल निलम्बन गर्नुहुन्छ । एक जना मन्त्रीलाई निकाल्नुभयो । अर्को एक जना पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन थाहा छैन ?’

उनले प्रतिनिधिसभा, कुलिङ पिरियड र छानबिन समिति कसले गर्दा भएको थियो भन्ने स्पष्ट भएकाले विघटन गरिदिए हुने बताए ।