नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।

बिपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तरक्रियामा देउवाले बिपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताए ।

सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे ।

‘वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आजपनि उत्तिकै सान्दर्भिक छ,’ सभापति देउवाले भने ।

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाई छ ।

उनले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याएको सभापति देउवाले बताए ।

देउवाले भारत निर्वासनमा रहेर तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठवटा ज्यान मुद्दा हुँदाहुँदै बिपी नेपाल फर्किएको स्मरण गरे । बिपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै नेपाली कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ छ ।