विद्यालाई रोक्ने निर्णयले एमाले महासचिव खुसी


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णयले पार्टीमा विधि निर्माणको अन्यौल अन्त्य भएको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले यसबाट मिसन ‘८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो र त्यो सुनिश्चित भएको बताएका हुन् । उनले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ’८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’

बिहीबार मध्यरातसम्म चलेको एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको थियो ।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको थियो । विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने छ ।

बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।