काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको भोलिपल्ट बुधबार भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले घुस रकम लिएको अडियो सार्वजनिक भएको छ ।
घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीसमेत जोडिएको अडियो बुधबार सार्वजनिक भएको हो । अडियोमा पोखराको जग्गा मिलाउन मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी गरिएको छ ।
अडियोमा मन्त्री गुप्ता, अधिकारी र सचिव पोखरेलसहितका लागि डेढ करोड बढी रकम खर्च भइसकेको दाबी गरिएको छ । अडियोमा मन्त्री अधिकारीले ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले पाँच लाख लिएको दाबी गरिएको छ ।
त्यस्तै अडियोमा मन्त्रीका छोरा मनोज न्युजिल्याण्डमा बस्ने गरेको र बुबा मन्त्री भएर पछि नेपाल आएर पैसा उठाउने काम गर्ने गरेको दाबी गरिएको छ ।
घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका थिए । अडियोमा नाम जोडिएपछि मन्त्री अधिकारीले त्यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए । प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले भनेका थिए, ‘जुन औँलामा विष लागेको हो त्यही झर्छ ।’

प्रतिक्रिया