एक हजार दरका नोट छाप्नेदेखि मन्त्रीहरुको विदेश भ्रमण स्वीकृतसम्म, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय


काठमाडौँ । सरकारले एक हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नवनियुक्त गभर्नर डा. विश्व पौडेलको हस्ताक्षरवाला एक हजार दरको नोट छाप्न स्वीकृति दिएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षप्रा.डा. शिवराज अधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा सहभागी हुन स्वीकृति दिएको छ।

बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट थप १०.८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ । साथै, प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने र उखु उत्पादक कृषकहरूलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय बैठकले गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा र एक महासेनानीलाई सहायक सेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले गुल्मीको रेसुङ्गा नगरपालिकामा जिपलाइन तथा स्काई साइक्लिङ परियोजनाका लागि राष्ट्रिय वनको प्रयोग तथा नर्वे र चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मन्त्रीहरूको सहभागितालाई स्वीकृति दिएको छ।