काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले आशंकाका भरमा नभई तथ्यमा रहेर सांसदहरुलाई आग्रह गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले घुसकाण्डकाबारेमा शंकाका भरमा नबोल्न आग्रह गरेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’ गरेको अडियो प्रकरणमा मन्त्री अधिकारीको नामसमेत जोडिएपछि सांसदहरुले प्रश्न गरेका थिए । मन्त्री अधिकारीले आफूर आफ्नो मन्त्रालयसँग सम्बन्धीत कुनै पनि व्यक्तिले कहीँ कतै त्यस्तो कारोबार वा डिल गरेको भए यथार्थता ल्याइदिन आग्रह गरेका हुन् ।
उनले भने, ‘हाम्रो मन्त्रालय र मसँग जोडिएर केही कुरा आएको छ अथवा भूमि आयोगको अध्यक्ष चयन गर्ने सन्दर्भमा कतै मन्त्री पनि जोडिएका छन् कि भन्ने प्रसंग यहाँहरूले कोट्याउनुभयो, आयोग र कुनै पनि सदस्यहरू बनाउने सन्दर्भमा मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबार वा डिल गरेको रहेछ भने यहाँहरूले यथार्थता ल्याइदिनुस्, त्यसको निम्ति कानुनी कारबाही भोग्न तयार छौं ।
जुन औंलामा विष लाग्छ, त्यही औंला झर्छ । त्यो कुरा यहाँहरुले बुझ्नुहुनेछ ।’
उनले कसको पालामा के भयो भनेर अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए । आशंका र हल्लाका भरमा बाहिर बोल्न नमिल्ने भन्दै मन्त्री अधिकारीले सत्यतत्य केही दिनमा बाहिर आउने बताए ।

प्रतिक्रिया