भिजिट भिसामार्फत स्पेनमा मानव तस्करी भएको भनिएको विषयमा अनुसन्धान गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापालाई बोलाएर गृहमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय, अरूहरू कुन संस्थामार्फत कसरी गए भन्ने विषयमा छानबिन गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

यसमा कोही दोषी देखिए कारबाही गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।

स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा भिजिट भिसामा गएका केही नेपालीहरु नफर्केको भन्दै सरकारमाथि रास्वपाले प्रश्न उठाएको छ । उसले यस विषयमा छानबिन गर्न माग गरेको छ । तर प्रधानमन्त्रीले आफ्ना स्पेन भ्रमणलाई ओझेलमा पार्न केही विरोधी तत्वले अनर्गल प्रचार गरेको बताउँदै आएका छन् ।