मज्जैले खुइलिनुहोस्, माननीयहरु !


-सुवोधराज प्याकुरेल

जनताको अधिकारलाई जालझेल गर्ने सबै अपराधी हुन् र तिनीहरु दण्डका भागिदार हुनैपर्छ । तर यहाँनेर गम्भीर प्रश्न छ, राज्य व्यवस्था समितिका सांसदले पनि टेबुल ठोकीठोकी प्रतिनिधीसभामा प्रस्तुत विधेयकलाई पारित गरेका थिए । भनेपछि, सावित भयो कि हाम्रा सांसद आफूले पारित गरेको प्रस्ताव पढ्दै नपढी जे आयो त्यही पारित गर्दा रहेछन् । सचेतक फतेचक भएछन् । संसदीय दलका नेता समितिको बैठकमा मात्र जागा हुँदा रहेछन् । संसदमा त उनीहरु जे आयो ल्याइयो त्यसैमा सहमति जनाउन घोक्रो सुकुन्जेल हुन्छ हुन्छ मात्र भन्दा रहेछन् ।

सभामुखलाई पनि यो विधेयक बारेमा राम्रोसँग थाहा थियो । तर जे ल्याइयो त्यही खुरुक्क टेबुल गर्ने प्राविधिज्ञ हुनुभएछ । म सम्झिन्छु, सुवास नेम्वाङ र दमननाथ ढुङ्गानाले कतिपय बेलामा विधेयकका अमिल्दा कुरा सच्याउन अनौपचारिक रुपले सही सघाउनु भएको थियो । अरु त अरु, सरकारको नीति कार्यक्रम र बजेटमा राजा वीरेन्द्रले पेन्सिलले टिप्पणी गरेर सघाएको पनि देखेको छु । पुरै प्राविधिक, पुरै हुस्सु र सम्पूर्ण रुपमा जाली हाकिमको दास भएछ संसद । अझै कति खुइलिने ? मज्जैले खुइलिनुहोस् माननीयहरु । सगोलमै खुइलिनुहोस् । – न खाने मे मजा है, न पिने मे मजा है, – खुदा ने खुजली दिया है, खुजलाने मे मजा है । आफैंलाई कन्याउनुस् । आफैं मजा लिनुस् । वाह सांसद ! लाजको पसारो ।