कुलमान घिसिङ मध्यपूर्वका देशको भ्रमणमा, राजनीतिमा आउने तयारी


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मध्यपूर्वका देशको भ्रमणमा निस्किएका छन् । मंगलबार साँझ सामाजिक संजालमार्फत घिसिङले आफू मध्यपूर्वका देशको भ्रमणमा निस्कएको जानकारी दिएका हुन् । उनले यसबाट राजनीतिमा संकेत गरेका छन् ।

उनले अहिले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरुसँग जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको बताएका छन् । उज्यालो नेपालका नायक कुलमानलाई गत चैतमा सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो ।

घिसिङले लेखेका छन्ः

मध्यपूर्वी देशहरुमा रहनुभएका प्रिय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,
विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु । अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ । मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।

तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।

देशले तपाईंहरूलाई सम्झिएको छ — तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ ।