बजेट विनियोजनप्रति कांग्रेस सांसदको आक्रोशः प्रकाशमान र विष्णु पौडेलले २०८४ को चुनाव हारुन्


काठमाडौं । बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका एक जना सांसदले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई आगामी संसदमा देख्न नपाइयोस् भन्दै बुद्ध भगवानसँग प्रार्थना गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले यस्तो बताएका हुन् । उनले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट लगेको भन्दै आक्रोश पोखे । उनले भने, ‘२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु ।’

उनले उपप्रधानमन्त्री सिंह र अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ–आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको आरोप लगाए ।

उनले बजेटमा तीन करोड भन्दा तलका योजना नराख्ने बताएपछि काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना राखिएको बताए । त्यस्तै उनले रुपन्देहीमा ७९ वटा योजना हालेको बताए । सांसद तामाङले पार्टी नेता एवं उपप्रधानमन्त्री सिंहलाई पार्टीको आगामी महाधिवेशनमा देखाइदिने बताए ।

उनले बजेट विनियोजनले सिंहको इज्जत गएको बताए । उनले भने, ‘राजनीतिमा कहाँ जानुहुन्छ ? यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५औँ मा आउने । त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छ? तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्ने?’

उनले सिंहलाई पार्टी सभापति हुने भन्ने आफूले अपेक्षा गरेको तर अहिले पार्टीलाई डुबाएको आरोप लगाए । उनले भने, ‘यो तरिकाले तपाईंको राजनीति सप्रिन्छ? प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिएँ, यो तरिकाले देश चल्दैन, डुब्छ। कांग्रेसहरू डुबिसक्यो ।’