काठमाडौं । पदयात्रा गर्ने काम निकै साहसी हुन्छ । विष्णुप्रसाद शर्मा पराजुली साहसी यात्री हुन् । हामी नेपालीले अमेरिका, बेलायत, भारतका विषयमा धेरै जानकारी राख्ने गर्छौं तर आफ्नै देशको विषयमा शून्य हुन्छौं । हामीले नेपाललाई सानो भन्छौ तर विष्णुदाईको आँखाले पढ्दा न नेपाल सानो छ न स्रोत विहिन नै छ । हामीले आफ्नै नाइटोमा भएको कस्तुरी चिन्न नसकेको हो । अर्को कुरा, तीर्थयात्रा जानेहरूका लागि केवल भारतमात्र गन्तव्य स्थल हुन्छ भन्ने भ्रम यो कितावले चिरेको छ ।
तिब्बत यात्राको वृतान्तमा तिब्बत भन्दा नेपालको यात्रा अनुभव बलियो छ । त्यसको कारण हो – यातायातको सहजता । तर हामी आम नेपालीले भारतका तीर्थयात्रामा चासो राखेका हुन्छौं तर हिन्दू, जैन, बोन तथा बौद्धहरूको साझा तीर्थस्थल “मानसरोवर तथा कैलाशका विषयमा हाम्रो जानकारी निकै सीमित छ । यो कितावले नेपाल र तिब्बली सांस्कृतिक समानता र भिन्नतालाई पस्केको छ । किताव पढ्दा लाग्छ, हामी तिब्बतको “माटोको जङ्गलमा“ हिडिरहेका छौँ वा कैलाशको परिक्रमा गरिरहेका छौँ ।
तिब्बतको भन्दा कर्णालीको यात्रा निकै रोचक तथा रोमान्चकारी छ । कितावले मेरो मनमा कर्णाली मात्र होइन नेपाल घुम्नै पर्ने देश रहेछ भन्ने छाप पार्न सफल भएको छ । विष्णु दाइले आँट गरेझैं बलियो सङ्कल्प सहित नेपाल यात्रामा निस्कन पाउँ भन्ने ईच्छाचाहिं जागृत भएको छ ।
नेपालको धर्म, संस्कृतिको रक्षा गर्नुपर्छ भन्ने भावना जताततै प्रकट भएको पढ्न सकिन्छ वनमारा झारझैं फेलिरहेको धर्मपरिवर्तनले निम्त्याएका समस्याहरूसंग पनि उनी चिन्तित छन् । केही ठाउँमा त उनी दार्शनिक बन्न पुगेका छन् । ठाउँठाउँमा वर्तमान राजनैतिक अकर्मण्यता विरुद्ध आक्रोश पनि पोखिएको छ । तर एसको विकल्प के हुनसक्छ भन्ने विषयमा किताव मौन छ । आइएनजीओ संस्कृतिमा प्रहार गरिए तापनि यिनको नियमन हुनुपर्छ भन्ने विषयको उठान कमजोर छ ।
कितावको नाम तिब्बतयात्रा भनिए तापनि एसले तिब्बतको एउटा सानो भूभागको मात्र प्रतिनिधित्व गर्छ । समग्र तिब्बतको यात्राचाहिं भन्न मिल्दैन । नेपाल भन्दा लगभग १९ गुणा ठूलो तिब्बतको एउटा सानो भाग पनि तिब्बत यात्रा नै हो तर ल्हासा र कैलाशको यात्रा एसको सार तत्व हो । यो कितावले नेपालसंग चेलीको सम्वन्ध रहेको तिब्बतसंग जोडिन आव्हान गर्छ । र, तिब्बतका विषयमा अझै गहिरो चासो जगाउँछ ।
यो किताव पढेपछि एक पटक भए पनि सुदूरपश्चिमको यात्रा गर्नुपर्छ, तिब्बत पनि पुग्नुपर्छ र कमसेकम कालापत्थर पुगेर सगरमाथामा हाजिरी लगाउनुपर्छ भन्ने तीब्रतर इच्छा जागेको छ । पहाड, तराई र हिमाल भएको देश नेपाल कै हामी वासिन्दाहरू आन्तरिक पर्यटनमा अग्रसर छैनौ । आफ्नै देशका विविधताहरू हाम्रो लागि एकादेशका कथासरह छन् । यो कितावले नेपालीहरूलाई आन्तरिक पर्यटन बनेर देशाटन गर्न प्रेरित गर्छ ।
लेखकको यो कृतिलाई सलाम गर्छु किनभने यो किताव एउटा नेपालीले नेपाली मनले नेपालीहरूका लागि लेखिएको हो । हरेक नेपालीले यो किताव पढ्नुपर्छ किनभने पढ्नेहरूले अन्तर्मनमा कैलाश र मानसरोवरको यात्रा गर्ने अवसर प्राप्त गर्छन् ।
पर्वत जिल्ला विहादी – ३, कुडादीमा जन्मेका विष्णु प्रसाद शर्मा पराजुलीको जय होस् किनभने नेपाली मनले नेपाली बोलीमा लेखिएको यो कितावले नेपालीलाई नेपाल दर्शन गर्न मात्र होइन कैलास मानसरोवर तिर पनि यात्रा गर्न उत्प्रेरित गर्छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो कितावको मूल्य ३५०÷– रहेको छ र कलेवर पनि आकर्षक नै देखिन्छ ।

प्रतिक्रिया