पूर्वविशिष्टले सरकारबाट दिने आर्थिक सुविधा त्यागेको घोषणा गरौं


काठमाडौं । पूर्वविशिष्टको सेवा सुविधालाई लिएर यतिबेला खुब आलोचना भइरहेको छ । कसैले पूर्वविशिष्टलाई सेवा सुविधा दिनै नहुने बताएका छन् । पूर्वविशिष्टको प्रस्तावित सेवासुविधा हेर्दा झनै डरलाग्दो छ । सरकारले पूर्वराष्ट्रपतिका लागि मासिक वृत्ति एक लाख, घरभाडा मासिक २ लाखलगायतको खर्च प्रस्ताव गरेपछि सरकारको आलोचना भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना प्रश्न गर्छिन्, ‘पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने? पूर्वविशिष्ट सम्मानित हुनु पर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले ?’

यस्तो सुमनाको भनाई

न्यूनतम मासिक तलब १७ हजार जति तोकिएको छ– अर्थात् त्यति भए एक जना घर खर्च चल्छ भनेर सरकारले ठानेको छ । तर पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने ? पूर्वविशिष्ट सम्मानित हुनुपर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले ? चालू खर्च धान्न उठेको राजश्वले नभ्याउने अवस्थामा राज्यकोषको यो नै उचित उपयोग हो, जनताले यो प्रश्न पक्कै सोध्नेछन् ।
मेरा थप केही प्रश्न छन् –
– आमजनताको आयको हरेक रुपैयामा कर उठाउछ सरकारले, यो आयमा कर लाग्छ कि लाग्दैन ?
– पूर्वविशिष्ट राजधानीमै किन बस्न पर्ने ? राजधानीबाहेक अरु ठाउँ विकास गर्न सक्दैनौ भन्ने स्वीकारोक्ति हो सरकारको ? अनि घर हुनेलाई वर्षको २ लाख, नहुनेलाई २४ लाख पाउने भनेपछि भएको घर पनि किन नबेच्ने ?
– १५० लिटर तेलले त १०००–१५०० किलोमिटर गुड्न पुग्ला, हरेक महिना त्यति भ्रमण गर्न पर्ला ?
अन्य देशमा राजनैतिक र सम्मानित पदबाट अवकासपछि पनि व्यक्ति सक्रिय रहन्छन्, आफैं आय आर्जन गर्छन् । पूर्वराष्ट्राध्यक्षले पनि अति साधारण पुरानै घरमा बसेका, सादा जीवन बिताएकाले उदाहरणीय भएका छन् ।
पूर्वविशष्टहरू–सामान्य जीवनयापन गर्न पुग्ने बाहेकको सुविधा हामीलाई चाहिँदैन भनेर लिखित वक्तव्य आओस् । सुविधाको लोभमा सम्मान नगुमाउनु होला ।

त्यस्तै नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल पूर्व राष्ट्रपतिले कुनै दल विशेषको समर्थक वा सदस्य हुने मनोभावना त्यागेर सबै नागरिकको साझा अभिभावक बन्ने गरी काम र व्यवहार गर्नुपर्ने बताउँछन् ।

त्रिताल लेख्छन्ः

पूर्व राष्ट्रपतिज्यूहरुले यसो गरे कसो होला ?

राष्ट्राध्यक्ष पद अतिनै सम्मानित पद हो । यस पदमा पुग्नु भनेको देशका प्रत्येक नागरिकको मन मस्तिष्कमा श्रद्धापूर्वक सम्मानयोग्य हुनु हो । वर्तमान संविधानले यही सम्मान प्रदान गरेको छ । राष्ट्रपतिलाई राजनीति र अझ दलगत राजनीति भन्दा माथिको पदाधिकारी मानिएको छ । यो पदमा आसिन भइसकेको व्यक्ति विवादमा आउनु भनेको पदको गरिमामाथि प्रश्न उठ्नु हो ।
त्यसैले,
१. कुनै दल विशेषको समर्थक वा सदस्य हुने मनोभावना त्यागेर सबै नागरिकको साझा अभिभावक बन्ने गरी काम र व्यवहार गरौं ।
. देशको वर्तमान आर्थिक अवस्था र आफ्नो हैसियत समेतलाई ध्यानमा राखेर सरकारबाट दिने आर्थिक सुविधा त्यागेको घोषणा गरौं ।
यसो भएमा,
. एउटा राम्रो उदाहरण बन्नेछ ।
२. अन्य पूर्व पदाधिकारीले पनि यसलाई आधार मान्न वाध्य हुनुपर्नेछ ।