काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पहाडीसहित तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल, तत्कालिन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, तत्कालिन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालिन प्रमुख संचालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालिन निर्देशक विनिता श्रेष्ठ, तत्कालिन निमित्त निर्देशक अमूल प्रधान, तत्कालिन प्रवन्धक देवेन्द्र खतिवडा, तत्कालिन उपप्रवन्धक राजीवकुमार केसी, तत्कालिन उपप्रवन्धक सन्तोषकुमार श्रेष्ठ, तत्कालिन उपप्रवन्धक नवल चौधरी, तत्कालिन उपप्रवन्धक मुक्तिप्रसाद अर्याल, तत्कालिन उपप्रवन्धक हेमप्रभा रामप्रताप कर्ण, तत्कालिन उपप्रवन्धक परमात्मा भट्टराईलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
२०७८ माघ ६ मा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसियाइन्फो लिङ्केज टेक्नोलोजिज् इन्कबीच भएको सम्झौताअनुसार कन्भर्जेन रियल टाइम बिलिङ तथा ग्राहक सेवा प्रणाली खरिद गरिएको थियो। यो प्रणालीमार्फत जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, तथा ब्रोडब्यान्ड सेवा लगायतका बिलिङ प्रणालीलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै रियल–टाइम शुल्क गणना तथा अपडेट गर्ने उद्देश्य राखिएको थियो ।
तर, सम्झौतामा स्पष्टरूपमा वार्षिक मर्मतसम्भार सेवा (एएमसी) को शुल्क ५ प्रतिशत घट्दो दरमा निर्धारण गर्नुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वनिर्धारित मूल्यभन्दा अस्वाभाविक बढीमा वार्षिक मर्मतसम्भार सेवा खरिद गरिएको आरोप अख्तियारले लगाएको छ ।










प्रतिक्रिया