काठमाडौं । अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज गरेको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले नेपालका लागि अस्थायी संरक्षित दर्जा (टीपीएस) अन्त्य गर्ने निर्णय सार्वजनिक गरेको छ ।
विभागले सूचना प्रकाशन गर्दै नेपालको अवस्थाको पुनरावलोकनपछि टीपीएसको आवश्यकता नरहेको निष्कर्ष निकालेको हो । गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सम्बन्धित सरकारी निकायहरूसँगको परामर्शपछि नेपालमा टीपीएसको लागि आवश्यक कानुनी मापदण्डहरू अब पूरा नभएको भन्दै टीपीएस अन्त्य गर्ने निर्णय लिएको बताएकी छन् ।
नेपालका लागि टीपीएसको मान्यता २०२५ अगस्ट ५ तारिखबाट समाप्त हुनेछ । टीपीएस अन्त्य भएसँगै, नेपालका टीपीएस् लाभार्थीहरूका लागि अमेरिकामा बस्न अन्य वैध आधार नभएमा स्वदेश फर्किनुपर्ने अवस्था सिर्जना हुनेछ । सन् २०१९ सम्म १९ हजार नेपाली यो सुविधा लिएको तथ्यांक छ ।
अमेरिकाले सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले आफ्नो देशमा सुरक्षित नभएका व्यक्तिलाई देश फर्किने अवस्था नहुँदासम्म कानुनीरुपमा बस्न र काम गर्न दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया