-नारायण गाउँले ।
बालेनले प्रशासकीय अधिकृत हटाउन खोजेका थिए, एक्लो जितेकाले एक्लै भए, सकेनन् । दुई तिहाईले काँध थापेपछि अधिकृतले बालेनका मुख्य सहयोगीलाई हटाइदिए । सके बालेनलाई नै हटाउने थिए । नसके पनि नङ्ग्रा र दाँत त झारेर छोड्ने योजनामैं देखिन्छन् । एयरपोर्टमा तीन तीन महिनामा प्रमुख फेर्न मिलेकै छ । भनेको जस्तो उठन्ती भएन भने भन्सार होस् या प्रहरी कार्यालय, रातारात मान्छे फेरिन्छन् । तीन महिना कार्यकाल बाँकी हुँदा पनि कुलमान निकालिएकै थिए । एउटा अधिकृतले चाहँदा नगरप्रहरी प्रमुख फेर्न पनि मिल्ने नै देखियो । एउटा निर्वाचित मेयरले आफ्नो कार्यशैली र योजनामा फिट नभएकाले एउटा अधिकृत फेर्न खोज्दा भने एक्लै परे ! आज एउटा पत्रिकाले आरोप लगाउँदा गृहमन्त्री दोषी भएको र राजीनामा दिनुपर्ने माग संसदमा छ, तर उनले प्रकरण र निर्णयहरू सार्वजनिक गर्दै अनियमितताको आरोप लगाएका अधिकृत जबर्जस्ती महानगरमा राखिएको छ । कसैले विरोध गर्दैन । हाम्रो सङ्घीयता र विकेन्द्रीकरण कस्तो छ भने नगरपालिकामा अधिकृतविना एक सुका पैसा चलाउन मिल्दैन, तलब खान पनि मिल्दैन र त्यो अधिकृत सिंहदरबारले पठाउँछ । यस्तोमा बालेनले स्वतन्त्र रूपले गर्न सक्ने के होला र ?
वैकल्पिक व्यवस्था र आफ्नो योजनाबारे खुलेर कम्युनिकेशन नगरेकाले बालेनका कतिपय गतिविधि आलोचित भए । जनप्रतिनिधि भएकाले जनतासँग उपलब्ध सबै माध्यमबाट संवाद गर्नु उनको कर्तव्य थियो । उनमा ईगो र आक्रोशको मात्रा पनि अलिकति बढी देखियो । केही स्वार्थ र राजनीतिमा टाँसिइरहने लालच नभएकाले पनि होला । कतिपय अवस्थामा विपन्न र निमुखा वर्गप्रति अलि बढी नै कठोर भएको र भौतिक इन्जिनियरको आँखाले मात्रै हेरेको आरोप उनलाई लाग्दै आयो । त्यसको फ्रन्टमा भएकाले यी पाण्डेजीमाथि धेरैको आँखा पर्यो ! आज कति जना खुसी पनि देखिन्छन् । ईगोको खेलमा देशको महानगरलाई सबै मिलेर पङ्गू बनाउने भए । आफू पनि नगर्ने, गर्न खोज्नेलाई पनि गर्न नदिने । हामीभित्र भष्मासुरकै डीएनए छ कि जस्तो लाग्छ !

प्रतिक्रिया