सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमाः कार्यवाहक सभापति अर्याल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार गरेको बताएको छ ।

१८ औं गणतन्त्र दिवसको असरमा शुभकामना सन्देश जारी गर्दै रास्वपाले नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ भएको तर अहिले यी स्तम्भ कति बलिया छन् भन्ने प्रश्न सबैका सामु टड्कारो रूपमा खडा भएको बताएको हो ।

सन्देशमा भनिएको छ, ‘दलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार गर्दा सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेका छन्। नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा उनीहरूमा बढेको निराशा आक्रोशमा रूपान्तरण हुँदैछ, जुन व्यवस्थाको सुव्यवस्थित सञ्चालन र स्थायीत्व लागि शुभसंकेत होइन। राज्य र शासकले नागरिकको आवाज र उनीहरूको जीवनस्तर सुधारको चाहना मात्र होइन आफू र आफ्नै संरचनाको जनमैत्री रुपान्तरणमा निरन्तर गरेको बेवास्ता व्यवस्थाप्रतिकै विश्वास संकटोन्मुख बनाउने मूल कारण हो ।’

प्रमुख दुई दलको सत्ता समीकरणको रसायन भनिएको संविधान संशोधनलाई उनीहरुले नै रणनीतिक रूपमा ओझेलमा पारेको पनि रास्वपाको बुझाइ छ।