विमानस्थल अध्यागमन प्रमुखले गरेको कामको दायित्व मैले लिनु पर्दैनः गृहमन्त्री लेखक


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु अन्याय भएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले आफूविरुद्ध कहीँ कतै उजुरी नपरेको र छानबिन पनि नभएकाले राजीनामा दिनुनपर्ने बताएका हुन् ।

उनले भने, ‘मेरा विरुद्ध कहीँ उजुरी छ ? कहीँ छानिबन भइरहेको छ ?’ आपराधिक कार्यको दायित्व अपराध गर्नेमा मात्र सीमित हुने भन्दै गृहमन्त्री लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखले गरेको कामको दायित्व आफूले लिनु नपर्ने बताए ।

उनले सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नपठाएको बताए ।

‘तीर्थराज भट्टराई मैले कुनै मन्त्रालय र विभागबाट ल्याएको कर्मचारी होइन । आफू आउँदा भट्टराई कसुरजन्य सम्पत्ति विभागमा महानिर्देशक भएर काम गरिरहनु भएको थियो । उहाँले यसअघि महत्त्वपूर्ण विभाग र प्रजिअको रूपमा काम गरिसक्नुभएको थियो । उहाँ २०७७ देखि निरन्तर गृह मन्त्रालय र मातहतको कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।’

गृहमन्त्रीले रवि लामिछाने हुँदाको अवस्था र अहिलेको विषयमा आधारभूत रूपमा अन्तर रहेको बताए ।

उनले रवि लामिछानेविरूद्ध त्यतिबेला जाहेरी दर्ता भएको, आफैं अनुसन्धानको घेरामा रहेको र गृह मातहत रहने प्रहरीले नै अनुसन्धान गरी राय दिनुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘अहिले मेरा विरूद्धमा अनुसन्धान भइरहेको छैन । राष्ट्रसेवकको विरूद्धमा अनुसन्धान भइरहेको छ।’