निकिताको गुनासोः अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले अदालतबाट आफूले न्याय नपाएको गुनासो गरेकी छन् ।

सोमबार अपरान्ह सामाजिक संजालमार्फत पौडेलले अब, न्याय माग्न म कहाँ जाऊँ ? भन्दै प्रश्न गरेकी हुन् । उनले भनेकी छन्, ‘अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !’

यस्तो छ निकिताको भनाई

जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो ।

हाम्रो तर्फबाट बहस राम्रो भयो । बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें । न्यायप्रतिको विश्वास झनै बढ्यो ।
करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहें । केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।
‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए । ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता ।

बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिक रुपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।

शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन । भोलिपल्ट (शनिबार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला । कसरी उहाँको अगाडि पुगें, थाहा छैन । सायद जिउँदो लास भएर हिंडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस् खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किए ।

केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !