राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो ।
दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रतिक्रिया