काठमाडौंमा घर तथा ४ आना जग्गा नदिए यौन शोषणको मुद्धा लगाइदिने भन्दै ठगी गर्ने दुई महिला पक्राउ


काठमाडौं । यौन शोषणको मुद्धा लगाई दिन्छु भन्दै ठगी गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीको गोदावरी नगरपालिका १० दमौराकी ३४ वर्षकी ममता तामाङ र भक्तपुर नगरपालिका १७ सल्लाघारीकी ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठीलाई पक्राउ गरेको हो ।

उनीहरुले आपराधिक लाभ लिने उद्देश्य राखी सामाजिक संजाल फेसबुकमार्फत चिनजान तथा सम्बन्ध वढाई ठमेलस्थित एक होटलमा एक पुरुषलाई बोलाइ खाजा तथा मादक पदार्थ सेवन गरी/गराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो तथा भिडियो खिचेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यसपछि फोटो र भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्धा लगाई दिन्छु लगायत विभिन्न किसिमका डर, धाक धम्कीहरु दिई पीडितसँग रकम माग गरी तत्काल पाँच लाखको चेक काट्न बाध्य पारेका थिए ।

यसरी रकम लिएका भन्ने सूचना प्राप्त भए पश्चात अपराध अनुसन्धान कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौंको हनुमानस्थानबाट पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाइएको छ । उनीहरूसँगै योजना बनाउने दुई पुरुष भने फरार छन् ।