सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु


बरहथवा । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालको मृत्यु भएको छ । मंगलबार क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा गाविस बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनार र ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–२३, वसन्तपुर बस्ने ३० वर्षको विवेक मानन्धरको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै बागमतीस्थित मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

५६२ नम्बरको मोटरसाइकल पछाडि सवार रौतहटको साविक बिसुनपुर्वा–४ की ३२ वर्षीया चनचला देवी साह र भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षकी मुनीदेवी साहको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो । दुवैको शव चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ ।