संविधानले नचिन्ने तर बिचौलियाले चिनेको सल्लाहकार राख्दा उनीहरूले कस्तो सल्लाह दिन्छन् भन्ने प्रश्न उठ्योः रामहरि खतिवडा


काठमाडौं । नेपाली कांग्रेसले सल्लाहकारहरुको नियुक्तिको विषयलाई लिएर संसदमा प्रश्न उठाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जथाभावी सल्लाहकार नियुक्तिले मुलुकको ढुकुटी रित्याउने काम मात्र गरेको बताएका हुन् ।

उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्षसमेतले जथाभावी सल्लाहकार नियुक्त गरेको भन्दै कानुन बनाएर यसलाई व्यवस्थित बनाउन माग गरे । उनले प्रधानमन्त्रीका सल्लाहकारसमेत धेरै भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ। परराष्ट्रमन्त्री आफैँ सल्लाहकार हुनुहुन्छ प्रधानमन्त्रीको तर धेरै सल्लाहकार राखिएको छ। राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे । किन चाहियो यत्रो सल्लाहकार ? कतिपय सल्लाहकार मन्त्रीस्तरीय, कतिपय सल्लाहकारहरू राज्यमन्त्री स्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि काहीँ ठाउँ नपाएपछि सल्लाहरको रुपमा सत्ताको वरिपरी बस्नको लागि नियुक्ति भएका छन्।’

उनले सल्लाहकारलाई संविधानले नचिन्ने तर बिचौलियाले चिनेको सल्लाहकार राख्दा उनीहरूले कस्तो सल्लाह दिन्छन् भन्ने प्रश्न उठेको बताए ।

उनले भने, ‘अहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए।  सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन्, सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ। ‘म अनुरोध गर्न चाहन्छु, संविधानले चिनेको र कानुन अनुसार उलेख भएको सल्लाहाकार राख्ने व्यवस्था गरियोस् ।’

उनले प्रदेशमा चार मन्त्री मात्रै राख्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।