सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?
-नारायण गाउँले ।
देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न नेतामाथि आदर र विश्वास छ न संविधान र संवैधानिक संस्थामाथि भरोसा र सम्मान छ । आफ्नै देशको प्रधानमन्त्रीलाई यसो प्रसंशा गर्यो, सिनेमा र करियर नै डुब्ने डर छ ! संविधानको पक्षमा बोल्यो, ट्रोल भइन्छ । बहुदलीय व्यवस्था छ तर दलको सदस्यता लिए झोले भइन्छ । देशकै प्रधानमन्त्री या पूर्वप्रधानमन्त्रीले बोलेको कुरा पोष्ट गर्यो भने तिनैलाई आक्रमण गरेजस्तो हुन्छ । तिनले झुक्किएर राम्रै कुरा गरे पनि त्यो हास्य बन्छ ।
देशको राष्ट्रपतिबारे दुई शब्द राम्रो लेखेर पोस्ट गर्नुस्, देशको प्रधानमन्त्रीको प्रसंशा गर्दै एकदुई वाक्य लेख्नुस्, तल आउने कमेन्ट पढ्न सकिन्न । अब आउनेहरू, पालो कुरेर बसेकाहरूको प्रसंशा गर्नुभो भने त जोकर नै बनिन्छ ।
देशका प्रधानमन्त्रीलाई अर्को देशले टेरेन भने, आलु प्याज जति भाउ पनि दिएन भने हामी खुशी भएर शेयर र टिप्पणी गर्छौँ । हाम्रो रौँ रौँ खुशी हुन्छ ।
प्रहरीमाथि विश्वास छैन, अख्तियारमाथि विश्वास छैन, अदालतमाथि बिश्वास छैन । न दलमाथि विश्वास छ न जनप्रतिनिधिमाथि । न जनमतमाथि विश्वास छ न जनतामाथि । आफूबाहेक अर्को त झोलेमात्रै छ । न वर्तमानप्रति खुशी छ न इतिहासमाथि गर्व छ । व्यापार गर्ने, उद्योग खोल्ने, नाफा कमाउनेहरू त लुटेरा नै भए । यतिसम्म कि आजसम्म खबरदारी गर्दै आएका र निरङ्कुशतादेखि भ्रष्टाचारसम्म सानो भए पनि अङ्कुशको काम गर्दै आएको पत्रकारितामाथि पनि विश्वास छैन ।
नेता त बदल्न सकिएला, अख्तियारमा आयुक्त फेर्न सकिएला तर यसरी देशकै शाख र विश्वास गिरेपछि, लोकतन्त्रका सबै अङ्ग र संस्था क्रमिक रूपमा ध्वस्त बन्दै गएपछि र अन्तर्राष्ट्रिय रूपमै देशको व्यक्तित्व साँघुरिँदै गएपछि त्यसलाई उठाउने कसरी होला ? सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ! अझ दुर्भाग्य त हरेक दिन नेतादेखि शासकसम्म र दलदेखि जनतासम्म यो शाख चिथोर्ने र देशका स्तम्भहरू भत्काउने दौडमा तँछाडमछाड़ गरिरहेछौँ !कहाँ पुगेर रोकिएला ?