सेती र त्रिशूली नदीमा डुबेर तीनजना बेपत्ता


 

काठमाडौं । सेती नदीमा नुहाउने क्रममा बेपत्ता बालकको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन भएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने १० वर्षीय अमित विक पौडी खेल्ने क्रममा मंगलबार दिउँसो करिव पौने २ बजे नदीमा डुवेर बेपत्ता भएका थिए ।

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक दीपकराज भट्टको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगी उनको खोजीकार्य शुरु गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी त्रिशुली नदीमा नुहाउने क्रममा वेपत्ता दुई बालिकाको खोजीकार्य शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार साँझ नुहाउने क्रममा बेपत्ता भएका दुई बालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ कचौडे भिस्थित त्रिशुली नदीमा नुहाउने क्रममा ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा राई बेपत्ता भएका हुन्।

घटनालगत्तै उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङ्गको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सहप्रवक्ता थापाले जानकारी दिए ।