त्रिचन्द्र क्याम्पसमा मनोवैज्ञानिक परामर्श मेला आयोजना


काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा परामर्श मनोविज्ञानमा अध्ययनरत विद्यार्थीहरूले विविध क्रियाकलापका साथ मनोवैज्ञानिक परामर्श मेला आयोजना गरेका छन् ।

कार्यक्रमको उद्घाटन यसै क्याम्पसका क्याम्पस प्रमुख प्राडा निलम श्रेष्ठले गरेकी थिइन् भने उक्त मेलामा उद्घाटनमा सहायक क्याम्पस प्रमुखहरू डा. दयानिधि छत्कुली, बालकृष्ण पौडेल, अजन्ता आचार्यसहित मनोविज्ञानका प्राध्यापक डा. भारती अधिकारी, डा. नारायण प्रसाद शर्मा, गणेश अमगाई, सागर नेपाल, सरिता सापकोटा, पद्म प्रसाद घिमिरेसहित प्राध्यापक, कर्मचारी, स्ववियुका सभापति गोविन्द कोइरालालगायतको उपस्थिति रहेको थियो ।

मेलामा विद्यार्थीहरूले न्युरो–मनोविज्ञान, आर्ट–मनोविज्ञान, लागूऔषधको उपचार विधि, परामर्श–मनोविज्ञानका विविध स्वरूपहरू, परामर्श मनोविज्ञानका क्रियाकलापहरू, केही मनोपरामर्श सम्बन्धि खेलहरू र रिलेक्सेसन सम्बन्धि क्रियाकलापहरू संचालन गरेका थिए ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारीसहित मनोबैज्ञानिक परामर्शमा अभिरुचि राख्ने सर्वसाधारणसहित ५ सय भन्दाबढी दर्शकहरूले मेला अवलोकन गरेका सक्रियतापूर्वक क्रियाकलापमा सहभागी भएको र फिडब्याक दिएको कार्यक्रमका संयोजक डा. गोविन्द उपाध्यायले जानकारी दिए ।

साथै, उनले यस प्रकारको मेला त्रिचन्द्र क्याम्पसमा पहिलो पटक संचालन गरिएको र यसले परामर्श मनोविज्ञानका क्षेत्रमा सकारात्मक संदेश प्रबाह गरेको बताए ।