पश्चिमाप्रतिमानहरूको मनोवैज्ञानिक सङ्घर्षको चेपुवामा नेपाली किशोर–किशोरीहरू


-डा. गोविन्दशरण उपाध्याय ।

अहिलेको शिक्षित मान्छे भनेकै अंग्रेजी जानेको वा पश्चिमा सेरोफेरोमा विकसित गरिएको शिक्षाप्रणालीमा पढेको हो । परम्परागत रूपमा शिक्षित तर प्रमाणपत्र नभएको मान्छे ‘शिक्षित गनिन्न र भनिन्न पनि । अझ, अमेरिका, बेलायत वा कुनै युरोपियन मुलुकमा पढेको मान्छे त झन् ‘जान्ने, बुझ्ने, शिक्षित र आधुनिक’ पनि गनिन्छ र तिनका लागि अवसरहरू ठूलै हुन्छन् ।

परम्परागत सीप, दक्षता तथा शिक्षालाई कत्ति पनि महत्व नदिने, परम्परागत पारिवारिक प्रणालीलाई अस्वीकार गर्ने र व्यक्तिगत हितलाई सर्वोपरी मान्दै सामाजिक दायित्वलाई दोस्रो दर्जाको कर्तव्य मान्ने, परम्परागत नाता र गोत्र प्रणाली होस् वा धार्मिक आस्थालाई ‘अन्धविश्वास’ ठान्ने र सधैं नेपालको अमेरिकी, वेलायती, युरोपेलीसँग तुलना गर्दै आफ्नो मौलिकतालाई “कमसल“ ठान्नेहरू शिक्षित मानिन्छन् । यी शिक्षितहरूले १६–१७ वर्षको उमेरमा टिकटक, फेसबुकआदिका माध्यमबाट ‘लब’ परेर भाग्ने किशोर–किशोरीको व्यबहारका लागि “धर्म र संस्कृति“लाई दोष दिन्छन् तर कम्पनीका विरुद्ध बोल्दैनन् ।

उपर्युक्त शिक्षित र सुकिला–मुकिलाहरूले व्यक्तिगत स्वार्थ र निजतालाई महत्व दिँदा धेरै परिवारहरू जोखिममा परेका छन् । बूढा–पुरानाहरूको निःशुल्क परामर्शको महत्व अस्वीकार गर्दै गर्दा सुकिला–मुकिला पतिपत्नीका विचमा स–सानो मतभिन्नताले पारपाचुके हुन थालेका छन् भने शिक्षाको यो आधुनिक मनोविज्ञानले यी सुकिला–मुकिलाहरू यो प्रवृत्ति सर्वसाधारणतिर फर्केको छ । निजता, स्वतन्त्रता र स्वार्थका नाममा संयुक्त परिवारको सामुहिकता समाप्त भएको छ । सुकिला–मुकिलाहरूबाट मुस्किलले जन्म लिने एकदुईबटा बालबालिकाले हजुरवा हजुरआमा र अन्य नाताहरूलाई नचिन्ने स्थिति आएको छ । तर शिक्षितहरू यो तत्थ्य स्वीकार गर्न आनाकानी गर्छन् ।

वर्तमान शिक्षा व्यबस्थाले नेपालको मौलिकताको संरक्षण गर्दैन । संरक्षण र सम्बर्धन गर्नु नपर्ने कुप्रथाहरूमात्र छोडेको होइन, छोड्ने नपर्ने सामाजिक, सांस्कृतिक तथा पारिवारिक मूल्यहरू पनि छोड्ने अप्राकृतिक मूल्य भएको मानसिकता तयार गरेको छ । परिणाम पनि प्रष्ट छ : कुनै पनि शिक्षित र निकै जान्नेहरू भन्ने व्यक्तिको पारिवारिक सुख सधैं धरापमा छ वा पारपाचुके भैसकेको छ । बाबुआमा हुँदाहुँदै छोराछोरीहरू अनाथ बनेका छन् । स्वयं शिक्षितहरू अनन्त मानसिक तनाव लिएर ‘सामाजिक विकास’को दम्भ गरिरहेका छन् । स्वार्थ र अहङ्कारका कारण आफ्नै परिवार टुट्दा, आफुनै मानसिक रूपमा क्षतिग्रस्त हुँदा समेत ‘मोडर्न’को भूत त्याग्न सकेका हुँदैनन् ।

भविष्यमा…..

भविष्य सजिलो छैन । अहिलेको शिक्षाले निर्माण गरेको भविष्य अझैं कहाली लाग्दो हुने छ । सामाजिकशास्त्र अन्तर्गतका विषयहरू पठनपठन गरिंदा विदेशीप्रतिमानहरूले नेपाली प्रतिमान विस्थापित गर्दै जाँदा भविष्यको पुस्ता झन् व्यक्तिगत स्वार्थलाई महत्व दिने, पारिवारिक, धार्मिक, सामाजिक तथा नैतिक मूल्यहरूलाई अस्वीकार गर्ने, मातापिताको सेवालाई ‘बायोलोजिकल कर्तव्य’ ठान्ने र विवाहजस्ता सामाजिक, धार्मिक तथा सांस्कृतिक संस्कारहरूप्रति अविश्वासको दृष्टिकोण राख्ने पुस्ता तयार हुने छ । भविष्यको पुस्ताको लागि नैतिकताको पैमाना ‘निजता र पैसा’ हुने छ । नेपालको शासन व्यबस्था जुन सधैं ‘सिस्टम–निर्माण’को विरुद्धमा छ, यसले भविष्यका यी शिक्षितहरूलाई अराजक बनाउने छ ।

आधुनिकता, उदारवाद र निजताको स्वार्थमा रुल्मुलिएको वर्तमान पुस्ता होस् वा यो पुस्ताले जन्माएर हुर्काइरहेका किशोरकिशोर दूबै निकै कन्फ्युज्ड छन् । अहिलेको पुस्ता पुरानोलाई छोड्न सक्दैन र पश्चिमा प्रतिमानहरूलाई १००% अपनाउन सक्दैन । शिक्षित हुनुको दम्भले प्राचीनतालाई स्वीकार्न सक्दैन र आधुनिकताका नाममा पूर्णस्वतन्त्र पनि चाहन्न । युवापुस्ताले सबै नियालीरहेको छ । सायद पौरस्त्य र पश्चिमाप्रतिमानहरूको यो मनोवैज्ञानिक सङ्घर्षले किशोर–किशोरीहरू चेपुवामा परेका छन् । त्यसैले सधैं घोप्टिएर सामाजिक डिजिटल संसारमा आफ्नो परिचय खोज्ने प्रयत्न गरिरहेका छन् । यो पुस्ताका लागि सबैभन्दा ठूलो चुनौती नै ‘पुस्तान्तरणका क्रममा आफ्ना बालबालिकालाई के सिकाउने ?’ भन्ने रहने छ । नेपाली मनमा अंग्रेजी सपना भरिएपछि यस्तै हुनेछ ।

अन्त्यमा, वर्तमान पुस्ताका अभिभावकहरूले निजतासँग जोडिएको स्वार्थलाई नेपाली संयुक्त परिवारसँग जोड्न सक्नुपर्छ । शिक्षाको अहङ्कारमा आफ्ना पारिवारिक मूल्यहरू छोडेर ‘पारपाचुके’लाई संस्कृतिका रुपमा स्वीकार गर्ने दिशातिर बढ्नु हुँदैन । असल मूल्यहरू जताततैबाट स्वीकार गर्नुपर्छ तर कमसल र विद्रोही मूल्यहरूको वारेमा जानकारी राखे पनि जीवनको अंश बनाउनु हुँदैन । हाम्रो समाज, गोत्र, नातागोता, ‘हाम्री आमा, हाम्रो गाउँ, हाम्रा वा’जस्ता सम्बन्ध र मनोविज्ञानले निर्मित भएको छ । यो हाम्रो लागि अनुकुल छ । प्रतिकुलहरूलाई अस्वीकार गरेर हामीले आगामी पुस्तालाई ‘परिचय–क्राइसिस’बाट जोगाउन सक्छौं । नैतिक मूल्यहरू आफ्नै राम्रो, असल र सहयोगी हुन्छन् ।
हामी सबैको कल्याण होस् ।