काठमाडौ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले संसदा उठेका विषय र सुझावलाई समेटर जानुपर्नेमा जोड दिएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले संविधानमा उल्लेख भएका राज्यका निर्देशक सिद्धान्त तथा नीतिलाई सरकारको वार्षिक नीति तथा कार्यक्रमले आधार बनाएको दाबी गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता, वार्षिक बजेट, मध्यमकालीन खर्च संरचनाबीच बलियो समन्वयको आवश्यकता औँल्याए ।
नागरिकका विकाससम्बन्धी आकाङ्क्षा पूरा गर्न नसक्दा सरकार र व्यवस्थाप्रति प्रश्न उठ्न थालेको उल्लेख गर्दै सांसद गैरेले जनताले राज्यबाट बलियो आड र भरोसा खोजेका बताए ।
“नागरिकमा व्यापक निराशा बढेको छ, भरोशा टुटेको छ । उनीहरूका आचरण बदलिँदै गएका छन् । भविष्यप्रति अविश्वास र निराशा बढेको देखिन्छ । अब ती निराशा चिर्दै नागरिकमा विश्वास पैदा गर्ने गरी सबै एकजुट भएर अघि बढ्न सक्नुपर्छ”, उनले भने ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पर्ने विषयको कार्यान्यवनको सुनिश्चितताका लागि पनि गैरेले संसदमार्फत सरकारको ध्यानाकर्षण गराए । सबैकुरा खराब मात्रै भयो भन्नेभन्दा पनि सकारात्मक आलोचना र सुझावको बढी अर्थ रहने उनको भनाइ छ ।
संसदमा छलफलका क्रममा रहेको नीति तथा कार्यक्रमसँगै निजामती सेवा विधेयक, शिक्षा विधेयक, प्रहरी विधेयकलगायत महत्त्वपूर्ण कानुन अघि बढाउनुपर्ने सांसद गैरेले जोड दिए ।
भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धका कारण नेपालमा पर्न सक्ने असर र दुई देशबीच शान्तिको अवस्था सिर्जना गर्न नेपालले खेल्न सक्ने भूमिकाका बारेमा सोच्नुपर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया