काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले अख्तियारमा उजुरी पर्दा माथिल्लो तहको मान्छेलाई जोगाउने गरेकोले भ्रष्चारको जरो उखेल्न नसकेको बताएका छन् ।
बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राईले अख्तियारमा बलिको बोको कर्मचारी मात्र हुने अवस्था भएको भन्दै कर्मचारीले पनि कोबाट निर्देशित भएको कुरा खुलाउन नचाहेको बताएका हुन् ।
उनले भने, ‘मान्छेलाई परिचालन गर्ने माथिल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न छ तर बलिको बोको त कर्मचारी मात्र हुने अवस्था छ । तर माथिल्लो तहको मान्छे संलग्न छ कि छैन भनेर बयान दिने मान्छेले प्रमाणसहित भन्नुपर्छ । तर को बाट परिचालन भएको भनेर नाम लिनै चाहान्न । म आफैं सबै बेहोर्छु भन्ने छन् । त्यसले भ्रष्टाचारको जरो उखेल्न नसकेको हो ।’
उनले अनुगमन गर्ने निकाय धेरै हुँदा पनि काममा नकारात्मक प्रभाव परी ढिलासुस्ती भएको बताए । उनले सिंगापुर, अमेरिकालगायतका देशबाट भ्रष्टाचारको पैसा ल्याउन नसकेको बताए ।
उनले सरकारले द्धिपक्षीय सम्झौता नगरेकाले भ्रष्टाचारको पैसा ल्याउन नसकेको भन्दै सिंगापुरले एग्रिमेन्ट गरी पैसा लैजान भनेको पनि जानकारी दिए ।
उनले भने, ‘सिंगापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन। कार्यदल बनाए पनि काम भइरहेको छैन । भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या पनि उल्लेख्य छ ।’
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदनमाथि छलफल गरिएको छ ।

प्रतिक्रिया