परस्त्रीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या


कर्णाली । परस्त्रीसँगको सम्बन्ध लुकाउन सुर्खेतमा सैनिक जवानले श्रीमतीको हत्या गरेको खुलेको छ । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२ को झिंगेनारा खोलाका मृत भेटिएकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीका श्रीमान दर्शन खत्रीले हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले श्रीमानले ढुङ्गाले टाउकोमा हानेर प्रेमाको हत्या गरेको जानकारी दिए । घटना शनिबार भएको र आइतबार बिहान जङ्गलमा थाकलको खजुरी टिप्न गएका गाउँलेले खोल्सामा प्रेमाको शव देखेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

आइतबार बेलुका हत्या आशङ्कामा श्रीमान दर्शन खत्रीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले बताए । गुर्भाकोट नगरपालिका–५, का दर्शन र सोही नगरपालिकाको वडा नम्बर ६, मेहलकुनाकी प्रेमाबीच ७ वर्षअघि विवाह भएको थियो । उनीहरुको पाँच वर्षकी छोरीसमेत छिन् ।

सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थालेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको थियो । त्यसैक्रममा माइतीघरमा रहेकी प्रेमालाई बोलाएर श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ ।