डा. गोविन्दशरण उपाध्याय ।
‘ऋतेः ज्ञानान्न मुक्ति’ शास्वत ज्ञान प्राप्त नभएसम्म मुक्ति प्राप्त हुँदैन भन्ने वेद वाक्य र अमृत स्वरूपा च अर्थात् भक्ति अमृत स्वरूप हुन्छ, भक्तिको उत्स प्राप्त गरेपछि प्रापक पूर्ण तृप्त हुन्छ, अमर हुन्छ, सिद्ध हुन्छ भन्ने ऋषि नारदका बचनहरूले ज्ञान र भक्तिको दूवै महत्व अद्भूत रहेको प्रष्ट हुन्छ । ज्ञान, कर्म र भक्ति – यी तीन साधना पद्धतिका माध्यमबाट साधकले प्राप्त गर्छ भन्ने विषयमा शास्त्र एकमत छ ।
हरेक वर्ष बैशाख शुक्ल प्रतिपदाका (परेवा) दिन महान् सनातन धर्मका आचार्यहरू शंकराचार्य (८ औं शताब्दि) र रामानुजाचार्य (सन् १०१७) को जन्म भएको विश्वास गरिन्छ र उहाँहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिन्छ । अनुयायीहरुले यस्तो ‘सम्झना’लाई जयन्ति भन्ने गर्छन् । जयन्तिको अर्थ – धर्मको स्थापनामा विजयप्राप्त गरेको भनेर बुझ्न उचित होला ।
यी दूवै आचार्यहरूका बीचमा केही समानता अद्भूत छन् । उदाहरणका लागि दूवै आचार्यहरू दक्षिण भारतमा जन्मेका थिए । दूवै ब्राह्मण थिए । आरम्भमा दूवै अद्वैतवादमा दीक्षित भएका थिए भने दूवैले वैदिक सनातनधर्मको पुनस्थापनालाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण लक्ष बनाएका थिए । दूवैले गीता, वेदान्त सूत्र तथा उपनिषद् (प्रस्थानत्रयी) को नवीन व्याख्या गर्दै सम्प्रदाय स्थापना गरेर आचार्य बनेका थिए ।
प्रस्थानत्रयिको वेदसम्मत व्याख्याका विषयमा दूवैको दृष्टिकोण फरक छ । आचार्य शंकरले वेद र प्रस्थानत्रयीको व्याख्या अद्वैतपरक गरेका छन् भने आचार्य रामानुजले सोही व्याख्या विशिष्टाद्वैतवादी दृष्टिकोणले गरेका छन् । आचार्य शङ्करको लक्ष ज्ञानको साधनाबाट मोक्ष वा ब्रह्मसंग एकता प्राप्त गर्नु हो भने आचार्य रामानुजका दार्शनिक चिन्तनको साधनागत लक्ष प्रपत्ति अर्थात् शुद्धभक्तिको साधना गरेर विशिष्ट अद्वैत ब्रह्मको कृपा प्राप्त गरेर उहाँको नित्य सानिध्य प्राप्त गर्नु रहेको छ ।
–आचार्य शङ्करले आफ्नो प्रसिद्ध कृति विवेक चूडामणिमा “ज्ञानको उपलब्धिका लागि साधन चतुष्ठय (विवेक,वैराग्य, तितिक्षा तथा मुमुक्षुता)को अभ्यासमा जोड दिंदै ब्रह्म र जीवका विचको एकत्वलाई अन्तिम सत्यका रूपमा अङ्गीकार गरेका छन् । आचार्य शङ्करले आफ्नै जीवनकालमा स्थापना गरेका चार प्रमुख पीठ र पाचौं पीठका वर्तमान शंकराचार्यहरूले यिनै उपदेशको निरन्तरता दिंदै आइरहेका छन् ।
अर्कोतिर, आचार्य रामानुज भक्तिवादी भएको नाताले श्रीमद्भागवतले स्थापित गरेका नौं प्रकारका भक्तिहरूको साधना गर्दै पूर्णसमर्पण गरेर भगवानको कृपा प्राप्त गर्दै भक्तिको साधनाबाट बिनय, त्याग, समर्पण र विश्वासबात भगवानलाई प्राप्त गर्न सकिने बताएका छन् । आज विश्वभरी आचार्य रामानुजको चिन्तन र साधनालाई अङ्गीकार गर्दै अनेकौं आचार्यहरूले विशिष्टद्वैतवादको प्रचारप्रसार गरिरहेका छन् ।
–झट्ट सुन्दा दूवै आचार्यहरूको दार्शनिक विचार फरक भएको हुँदा यी विच र यिनका अनुयायीहरू विच शत्रुतापूर्ण सम्बन्ध होला भन्ने अनुमान लगाउन सकिन्छ तर तत्थ्य यो भन्दा निकै फरक छ । कुरा प्रतिबद्धताको हो शत्रुताको होइन । आचार्य शंकरले वेदप्रतिपादित ज्ञानपरम्परालाई अङ्गीकार गर्दै अद्वैतसत्यको साक्षत्कार गरेका हुन् भने रामानुजले पनि यही परम्परामा रहेर भक्ति साधनालाई प्राथमिकता दिंदै ईश्वरको सान्निध्य प्राप्त हुने बताएका हुन् ।
हो, यो आन्तरिक वैदिक चिन्तनगत युद्धमा आचार्य शङ्कर र रामानुज प्रमुख प्रधानमल्ल हुन् तर यो मल्लवतार बैचारिकतहमा मात्रै हो । आचार्य शङ्करले भक्ति र कर्ममार्ग दुवैको प्रशंसा गर्नुभएको छ भने रामानुजले पनि ज्ञान र कर्ममार्गको महत्वलाई अस्वीकार गर्नुभएको छैन । आचार्य रामानुजले आचार्यको रूपमा सर्वाधिक आदर गर्ने व्यक्तित्व नै आचार्य शङ्कर हुन् ।
शाङ्कर दर्शन र रामानुज दर्शन असलमा ज्ञान साधना र भक्तिसाधनाका विचमा भएको प्रेमपूर्ण असहमति, सहमति तथा सम्प्रदाय प्रवर्तनको प्रेमपूर्ण बैचारिक युद्ध हो । आचार्य शङ्करका दार्शनिक चिन्तनको अध्ययन नगर्नेले रामानुज दर्शनलाई बुझ्न सक्दैन भने रामनुजीहरूले पनि आफ्नै दार्शनिक चिन्तनको गहनता र व्यवसायलाई बुझ्न शंकराचार्यलाई बुझ्नै पर्छ । एउटा सनातनी दार्शनिकका रूपमा आचार्य शंकरले ब्रह्मतत्वको उपासनालाई महत्व दिएका छन् भने आचार्य रामानुजकाका लागि विष्णुतत्व सर्वोच्च हो ।
अन्त्यमा, ज्ञानयोग (आचार्य शङ्कर) र भक्तियोगका (आचार्य रामानुज) साधकद्वय आचार्य शङ्करको जीवनकाल केवल ३२ वर्ष (आचार्य शङ्कर केवल ३२ वर्षसम्म जीवित रहे) भने आचार्य रामानुज १३५ वर्षको दीर्घजीवन बाँचेर विशिष्टाद्वैतवादको प्रचारप्रसार गरिरहे । आजको मितिमा पनि ज्ञान, भक्ति र कर्मका साधकहरूका विचमा श्रेष्ठताको बैचारिक सङ्घर्ष चलिनैरहेको छ भने यिनका विचमा प्रेमपूर्ण बैचारिक एकता पनि सघननै छ । यही सनातन धर्म र सनातन धर्मका अनुयायीहरूको विशिष्टता हो । यदाकदा अपरिपक्व अनुयायीहरूले एकअर्कालाई निषेध गरेको सुन्दा, पढ्दा र देख्दा मन कटक्क खान्छ ।
दूवै आचार्यहरूमा सादर नमन ।

प्रतिक्रिया